पहिले बाराको बरियारपुरमा मात्र लाग्ने गढीमाई मेला अहिले मधेश प्रदेशको सर्लाही,रौतहट र बाराका पनि लाग्ने गरेको पाइएको छ ।पाँच वर्षमा एक पटक लाग्ने मेला अहिले करिब दुई दर्जन भन्दा बढी स्थानमा यो पञ्चवर्षीय मेला एउटै तिथि मितिमा लाग्ने गरेको पाइएको हो ।
सर्लाहीको रामनगर,बहरहथवा र कविलासी नगरपालिकाका चार स्थानमा गढीमाई मेला लागिरहेको छ।रामनगर गाउँपालिकाको खैर्वा बहुअर्वामा निकै पहिलेदेखि गढीमाई मेला लाग्दै आएको हो।यसैगरी,बरहथवा नगरपालिकाको टोकार र कविलासी नगरपालिकाको रनिया पिपरिया तथा जमुनियामा मेला लागेको छ।रौतहटमा सबैभन्दा बढी गढीमाई मेला लागिरहेको छ।गढीमाई नगरपालिकासहित गरुडा,कटहरिया,माधवनारायण,वृन्दावन नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानमा गढीमाई मेला आयोजन गरिएको छ।गढीमाई नगरपालिका ४ सुन्दरपुरमा करिब ६० वर्षदेखि गढीमाई मेला लाग्दै आएको छ।
हरैया र धर्मपुरमा पनि पञ्चवर्षीय मेला लाग्ने गरेको छ।गरुडा नगरपालिकामा चार स्थानमा गढीमाई मेला लागिरहेको छ।गरुडा नगरपालिका २ गेडहीगुठीमा मात्र तीन स्थानमा मन्दिर निर्माण गरी मेला लाग्ने गरेको स्थानीयले बताएका छन् ।यस्तै,गरुडा नगरपालिका ९ गढीटोलामा पनि लामो समयदेखि यो मेला लाग्दै आएको छ।कटहरिया नगरपालिकाको दुधियाभार र बलिरामपुर गाउँ,माधवनारायण नगरपालिकाको माधोपुर गाउँ,गुजरा नगरपालिकाको कनकपुर र वडा नम्बर ४,वृन्दावन नगरपालिकाको धनगढी,फतुवा विजयपुर नगरपालिकाको बैरगनिया र दुर्गा भगवती गाउँपालिकाको करबोलमा पनि गढीमाई मेलाको आयोजना भइरहेको छ।फतुवा विजयपुर नगरपालिकाको बैरगनियामा लामो समयदेखि मेला लाग्दै आएको छ । माधवनारायण नगरपालिका ६ को माधोपुरमा तेस्रो पटक मेला आयोजना गरिएको हो।
बाराको महागढीमाई नगरपालिकाको बरियारपुर र सिमरा जितपुर उपमहानगरपालिकाको जितपुरमा मेला लाग्ने गरेको छ।विश्व प्रसिद्ध बरियारपुर मेला हुने दिन नै दर्जनौँ स्थानमा पञ्चवर्षीय मेला लाग्न थालेको छ।गढीमाई केवल मेला मात्र नभई सांस्कृतिक रुपमा पनि विस्तार भएको मधेशका संस्कृतविद्धहरु बताउँछन् ।जानकारहरुका अनुसार बज्जिका संस्कृति भएका वा बज्जिका भाषा बोलिने क्षेत्रमा गढीमाई संस्कृतिको महत्व थप गहिरो छ ।