सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित बस्तीपुरमा रहेको एक संस्थागत विद्यालयका विद्यार्थीहरुले विद्युतीय ट्रयाक्टर निर्माण गरेका छन्।लालबन्दी नगरपालिका ९ स्थित बस्तीपुरमा रहेको आइडियल कोएड एकेडेमीमा कक्षा ११ र १२ पढ्दै गरेका तीन जना विद्यार्थी मिलेर विद्युतीय ट्रयाक्टर निर्माण गरेका विद्यालयका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिए।उनका अनुसार कक्षा १२ मा अध्ययनरत पल्लव कौशिक,नवराज बस्नेत र आशिष महतो मिलेर विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका र उक्त ट्रयाक्टरबाट साना किसानहरुले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने छन् ।
उक्त विद्युतीय ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको विद्यार्थी बस्नेतले बताए।उनका अनुसार तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर समेत जडान गरिएको र ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ।रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न सकिने छात्र कौशिकले बताए।उनका अनुसार थोरै खेत भएका साना किसानहरुका लागि जोत्न,गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान विद्युतीय ट्रयाक्टर प्रयोग गर्न सकिन्छ ।विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित विद्युतीय ट्रयाक्टर निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियार बताए ।
राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गरेका विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयका अनुसार कवाडीमा फालिएका मोटरसाइकलका पार्टसहरु,विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय ट्रयाक्टर निर्माणमा करिब रु एक लाख १५ हजार खर्च भएको छ। आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन्।इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल,पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ।