सर्लाही सहित तराई क्षेत्रमा दिनानुदिन चिसो बढ्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको छ ।केही दिनदेखि तराई क्षेत्रमा राम्रोसँग घाम लाग्न सकेको छैन्,भने मौसममा अदलिबदलि भई रहेको छ ।दिनभर हुस्सु,तुँवालो लागेर घाम देखा पर्न नसक्दा चिसोले जनजीवन प्रभावित बन्न थालेको हो ।
दिउँसोपख पनि पारिलो घाम लाग्न छाडेर साँझ–बिहान र रातको समयमा चिसो बढ्न थालेकोे छ । विगत केही दिनदेखि दिउँसोपख समेत घाम लाग्न छाडेपछि चिसो बढेको हो ।अधिक जाडो हुने महिना पुस नजिकिँदै गर्दा बढ्दो चिसोले विपन्न नागरिकलाई चिन्ता थपिएको छ । सर्लाही जस्तो तराई मधेशमा धेरै परिवारमा शरीर ढाक्ने न्याना कपडा र रातिको ओढ्ने ओछ्याउने नभएका विपन्नहरुलाई चिसोबाट कसरी बच्ने भन्ने चिन्ता सुरुभएको छ ।
बढ्दो चिसोले गरिब, असहाय तथा न्यून आय भएका परिवार बढी प्रभावित हुन थालेका छन् ।सर्लाहीको ग्रामीण भेगका अतिविपन्न परिवार चिसोबाट बच्ने उपायको खोजीमा लागेका छन् ।उनीहरु घर तथा गोठमा हावा छेक्न बेराघेरा मर्मत गर्ने, शित चुहिने घर छाउने, आगो ताप्ने दाउराको जोहो गर्ने काममा लागेका हुन् ।हुस्सु लागेर शित झरी चिसो बढ्दै जाँदा ग्रामीण भेगका किसानहरुलाई वस्तुुभाउ सुरक्षितसँग राख्न समस्या परेको छ भने चिसोमा वृद्धवृद्धा,दीर्घ रोगी,बालबालिका र अशक्त लगायतलाई चिसोको संक्रमण गढ्ने भएकाले ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन् ।
अहिले चिसोसँगै धुलो, धुुँवाको प्रदुुषण पनि उत्तिकै छ । कच्ची ग्रामीण सडकमा यात्रुु र सडक छेउछाउ घर भएकाहरुलाई धुुलाले सास्ती दिइरहेको छन् ।बाक्लो हुुस्सु र शितका कारण आलु, गोलभेँडालगायतका बालीनाली तथा तरकारीमा ठण्डीले भेट्न थालेसँगै किसानहरुले औषधिको प्रयोग गर्न थालेका छन् ।
चिसो बढ्दै जाँदा वृद्धवृद्धा,दीर्घ रोगी,बालबालिका र अशक्त लगायत अन्य मानिसहरुलाई रुघाखोकी,ज्वरो,श्वासप्रश्सास र घाँटी दुुख्ने लगायतका समस्याहरु देखापर्न थालेका लालबन्दी नगर अस्पतालका प्रमुख डा.चन्दन चौधरीले बताए ।उनका अनुसार चिसो तथा धुुलो,धुँवाजन्य स्वास्थ्य समस्या बढेको छ ।चिसोमा घरभित्रै न्यानो भएर बस्न,बाहिर निस्कनुपर्दा ताता कपडा लगाउन र धुलोबाट जोगिने उपाय अपनाउन डा.चौधरीले सुुझाव दिए ।