जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीको प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । पहिला जिल्ला प्रशासन कार्यालय रहेकै स्थानमा सुविधा सम्पन्न साँढे तीन तले प्रशासनिक भवन निर्माण सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम सूचना अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार भवन अत्यन्त जिर्ण र साँघुरो भएपछि जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न नयाँ भवन निर्माणका लागि ठेक्का लगाईएको र भरखरै निर्माण सम्पन्न भएको प्रशासनिक भवनमा केही समयभित्रै औपचारिक उद्घाटन गरेर भवन प्रयोगमा ल्याउने तयारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीको भवन निर्माण नहुँदा सम्म पुर्वाधार विकास कार्यालयले आफ्नो लागि निर्माण गरेको भवनबाट सेवा प्रवाह भई रहेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।उनका अनुसार नयाँ निर्माण भएको जिल्ला प्रशासन कार्यालयको भवनबाट केही महिनाअघि देखि नै राष्ट्रिय परिचय पत्रको काम हुँदै आएको छ । यसअघि अत्यन्त साँघुरो र जिर्ण भवनबाट सेवा प्रवाह गर्दा कर्मचारी र सेवाग्राही दुवैलाई अप्ठेरो परिरहेको अवस्थामा अब सुविधायुक्त पर्याप्त कोठा रहेको साँढे तीन तले भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहजता हुने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।