करिब ५०क्युविफिट सालको झ्याल,ढोका सहित ट्याक्टर र चालक नियन्त्रणमा

336 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ११ स्थित हिरापुरबाट करिब ५० क्युविफिट सालको काठ सहित एउटा ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका ११ स्थित हिरापुरबाट लालबन्दी तर्फ आउँदै गरेको प्रदेश २ ०३ ००१ त १५०७ नम्बरको ट्याक्टरमा लोड भएर ल्याइएको सालको झ्याल ढोका सहित ट्याक्टर र ट्याक्टरका चालक सिन्धुलीको मरिण गाउँपालिका ४ का अन्दाजी वर्ष २३ का सविन बम्जनलाई  ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सिन्धुलीको मरिण गाउँपालिका ४ स्थित रहेको सुन माया बम्जनले सञ्चालन गरेको रिदम सःमिलबाट भ्याट विल बनाई प्रदेश २ ०३ ००१ त १५०७ नम्बरको ट्याक्टरमा लोड गरी सर्लाही तर्फ ल्याउँदै गरेको झ्याल ११ वटा र ढोका १२ वटा गरी कुल ४६ दशमलव ५८ क्युविफिट सालको काठ,ट्याक्टर र ट्याक्टरका चालक बम्जनलाई नियन्त्रणमा लिएर आवश्यक कार्बाहीको लागि डिभिजन वन कार्यालय लालबन्दी सर्लाही बुझाइएको हो ।
मरिण गाउँपालिका ४ को सुनमायाले सञ्चालन गरेको रिदम सःमिलको नामबाट भ्याट विल काटिएको र निकासी भएको भएपनि अन्तर जिल्ला लैजान छुट पुर्जी लिनु पर्नेमा नलिएको पाइएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका सूचना अधिकारी हिरोहित चौधरीले बताए । उनका अनुसार अन्तर जिल्ला लैजान भ्याट विलका साथमा छुट पुर्जी अनिर्वाय गर्नु पर्नेमा सो नगरेको पाइएको र प्रहरीले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीलाई बुझाएको काठ,ट्याक्टर र ट्याक्टरका चालकको सवालमा आवश्यक अनुसन्धान सुरु भएको छ ।
के छ काठ अन्तर जिल्ला निकासी गर्ने प्रावधान ?
नेपालमा सालको काठ अन्तर जिल्ला निकासी गर्न वन मन्त्रालय तथा वातावरण संरक्षण सम्बन्धी प्रावधान अनुसार सम्बन्धित डिभिजन वन कार्यालयबाट सालको काठ कटानी र ढुवानीको लागि स्वीकृति लिनुपर्ने,काठ वैध रूपमा उत्पादन भएको र वन नियमावली अनुसार कटानी गरिएको प्रमाणित गर्ने कागजात हुनु पर्ने,सम्बन्धित डिभिजन वन कार्यालयबाट ढुवानी अनुमति पत्र लिनुपर्ने,जसमा काठको परिमाण,प्रकार र गन्तव्य खुलाइएको हुनुपर्ने,वन क्षेत्रको संरक्षणलाई ध्यानमा राख्दै अन्तर जिल्ला ढुवानी गर्दा राष्ट्रिय वन नीति र वातावरणीय नियमअनुसार काम गर्नुपर्ने,काठ ढुवानी गर्दा प्रमाण पत्र,स्वीकृति पत्र र अनुमति पत्र साथमा हुनुपर्ने,डिभिजन वन कार्यालयले तोकेको कर तथा ढुवानी शुल्क तिरेको हुनुपर्ने,काठको गन्तव्य स्थानमा काठ स्वीकार गर्ने निकाय वा व्यक्ति (उपभोक्ता) को विवरण हुनुपर्ने साथै काठ ढुवानी गर्ने सवारी साधनको नम्बर उल्लेख गरिएको हुनुपर्ने लगायतका प्रावधानहरु रहेका छन् ।
साथै,यदि निजी वन वा सामुदायिक वनबाट काठ निकालिएको हो भने सो वनका सम्बन्धित निकायसँग समन्वय गरेर प्रक्रिया पूरा गरेपछि मात्रै काठ अन्तर जिल्ला निकासी गर्न पाइने प्रावधान रहेको छ।तर हाल नियन्त्रणमा रहेको काठको सवालमा यी प्रक्रियाहरु पुरा नगरेको पाइएको डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले जनाएको छ ।यता,सो सम्बन्धमा बुझ्न डिभिजन वन कार्यालय कपिलाकोटाका डिभिजन वन अधिकृत एवम प्रमुख अजय बिक्रम मानन्धरलाई फोन गर्दा उनको फोन उठेन ।

सम्बन्धित समाचार