सर्लाहीको ईलाका प्रशासन कार्यालय हरिवनबाट पनि राहदानी सेवा सुरु भएको छ।यस अघि जिल्ला प्रशासन कार्यालय मलंगवाबाट मात्रै राहदानी सेवा सञ्चालनमा रहेको भएपनि अब ईलाका प्रशासन कार्यालय हरिवनबाट पनि राहदानी सेवा सुरु भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार राहदानी वितरणका लागि प्राविधिक समस्या उत्पन्न हुँदा देशभरमा झैँ सर्लाहीमा पनि मंसिर ६ गतेदेखि राहदानीको काम रोकिएको थियो।तीन सातासम्म राहदानीको काम रोकिँदा सेवाग्राही समस्यामा परेका थिए।धेरै दिनपछि बिहीबारबाट सेवा सूचारु भएसँगै जिल्ला प्रशासन कार्यालय मलंगवा र ईलाका प्रशासन कार्यालय हरिवन दुवै ठाउँमा राहदानी शाखामा सेवाग्राहीको चाप बढेको ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापाले बताए।
उनका अनुसार धेरै दिनपछि सेवा सूचारु भएकाले पासपोर्टका लागि दिनभर नै सेवाग्राही लाइनमा बसेका थिए।सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलंगवा तथा ईलाका प्रशासन कार्यालय हरिवन र बरहथवाका नागरिकता फाँटमा प्रायः सेवाग्राहीको चाप नै हुने गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।दुई वटा ईलाका प्रशासन कार्यालय रहेको सर्लाहीको इलाका प्रशासन कार्यालय बरहथवामा अहिलेसम्म राहदानी सेवा सञ्चालन नै हुन सकेको छेन् ।जसका कारण सो क्षेत्रका सेवाग्राही मलंगवा र हरिवनमा सेवा लिन जान बाध्य भएका छन् ।