अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासले विगत दुई आर्थिक वर्षमा परेका उजुरीहरु मध्ये छ हजार भन्दा बढी उजुरी फर्छयौट गरेको छ ।मधेश प्रदेशका विभिन्न जिल्लाबाट परेका छ हजार चार सय ७२ वटा उजुरी फर्छयौट भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासका सूचना अधिकारी तुलसी राम पौडेलले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०७९/०८० तथा २०८०/०८१ मा मधेश प्रदेशका आठ जिल्लाबाट आठ हजार पाँच सय २९ वटा उजुरी दर्ता भएको थियो त्यस मध्ये सबैभन्दा बढी धनुषाबाट उजुरी परेको हो।उनका अनुसार सो दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार चार सय २२ वटा उजुरी परेकामा एक हजार ५६ वटा उजुरी फछ्र्यौट भएका छन् ।
त्यसैगरी,दुई वर्षमा बाराबाट एक हजार दुई सय सात उजुरीमध्ये आठ सय ८७ वटा, सप्तरीबाट एक हजार एक सय ७० वटा उजुरी मध्ये नौ सय ७१ वटा, रौतहटबाट एक हजार ३५ वटा उजुरी मध्ये सात सय ३४ वटा,महोत्तरीबाट एक हजार २२ वटा उजुरी मध्ये आठ सय ३४ वटा उजुरी फछ्र्यौट भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासका सूचना अधिकारी पौडेलले बताए ।पर्साबाट नौ सय ५६ वटा उजुरी मध्ये छ सय ९१ वटा,सिरहाबाट आठ सय ८१ वटा उजुरीमध्ये छ सय ८७ वटा तथा सर्लाहीबाट आठ सय ३६ वटा उजुरी मध्ये छ सय ४२ वटा उजुरी फछ्र्याैट भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीवासका कार्यालयका प्रमुख रामबहादुर कुरूम्वागंले मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी(भण्डारी)समक्ष पेश गरेको आफ्नोे वार्षिक प्रतिवेदनमा दुई आर्थिक वर्षमा परेका उजुरीमध्ये ८० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेका उल्लेख गरिएको छ ।