सिन्धुलीको ३१ हजार ७२ परिवारका एक लाख २१ हजार दुई सय ४९ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।वि.सं २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएयता हालसम्म सिन्धुलीमा ५९ हजार दुई सय २० पुरुष र ६२ हजार ११ महिला बीमामाआवद्ध भएका स्वास्थ्य बीमा बोर्ड सिन्धुलीका प्रमुख सुदिना दाहालले जानकारी दिइन् ।
उनका अनुसार सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सबैभन्दा बढी कमलामाई नगरपालिकाका नागरिकहरु आबद्ध भएका छन् भने सबै भन्दा कम घ्याङ्लेक गाउँपालिकाका मानिसहरु स्वास्थ्य बीमामा आबद्ध भएका छन्।कमलामाई नगरपालिकामा ३६ हजार छ सय ४९ बीमीत हुँदा घ्याङ्लेक गाउँपालिमा तीन हजार छ सय ५३ जना मात्र स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।
गोलन्जोर गाउँपालिकामा १० हजार पाँच सय ५८, दुधौली नगरपालिका २१ हजार चार सय ५०,तीनपाटन गाउँपालिकाका १६ हजार दुई सय ८२ र फिक्कलका आठ हजार पाँच सय ५८ जना,मरिण गाउँपालिकामा १२ हजार तीन सय ८८,सुनकोशीमा आठ हजार तीन सय ५८ र हरिहरपुरगढीमा चार हजार ४२ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका कार्यालय प्रमुख दाहालले बताईन् ।
त्यस्तै ज्येष्ठ नागरिक आठ हजार दुई सय ८४,मधुमेह रोगी नौ सय, एचआइभी सङ्क्रमित एक सय १९ र क्षयरोगका बिरामी आठ जना स्वास्थ्य बीमामा आबद्ध भएका छन्।
कार्यालयमा बीमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।सिन्धुलीमा स्वास्थ्य बीमा बोर्डले जिल्लाको नौ वटै स्थानीय तहहरुका वडामा सहजकर्तामार्फत प्रचार प्रसारसँगै बीमीतहरूको नाम दर्ता गराउँदै आएका छन्। स्वास्थ्य बीमा गराएकाले जिल्लाको पाँच वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।कार्यालयका अनुसार सिन्धुली जिल्ला अस्पताल,दुधौली नगर अस्पताल, लाम्पान्टार प्राथमिक स्वास्थ्य केन्द्र,बेलघारी आधारभूत अस्पताल र कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य बीमा गरेकाले सेवा लिँदै आएका हुन् ।