पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको समाजवादीको निष्कर्ष

332 Shares

नेकपा(एकिकृत समाजवादी)पार्टी निकट समाजवादी प्रेस संगठनले नेपाल पत्रकार महासंघको निर्वाचनमा राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ।संगठनका अध्यक्ष विश्वमणि सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा मतगणनाका क्रममा महासंघमा उम्मेदवार बनेका व्यक्तिहरूबाटै शनिबार राति केन्द्रीय कार्यालयमा तालाबन्दी भएको घटनाले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
“निर्वाचन समितिले निर्वाचन मत प्रविष्ट गराइरहँदा राज्यसत्ताको दुरुपयोग गर्दै प्रहरीको कमाण्डसहित केन्द्रीय कार्यालय पुगेर मतगणनामा सरिक भएकाहरूलाई पनि बाहिर निकालेर तालाबन्दी गरिएको छ।”विज्ञप्तिमा भनिएको छ।“कैयौँ उम्मेदवारहरू पनि भएको अवस्थामा एकाएक तालाबन्दी गर्ने र मतगणना प्रभावित पार्ने सत्ता गठबन्धनको अभ्यासका विरुद्ध हामी खेद प्रकट गर्दछौँ ।”संगठनका अध्यक्ष सुवेदीले हस्ताक्षरगरी जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै,अछाममा मतगणना भइरहँदा सुदूरपश्चिम प्रदेश समितिमा महासचिवका उम्मेदवार हरि जोशी जित्ने निश्चित भएपछि प्रतिनिधि नराखी एकलौटी मतगणना गरेर राज्यसत्ताको दुरुपयोग गर्ने काम भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तो कार्यको विरोध गर्दै विज्ञप्तिमार्फत अर्को मतगणनाका लागि विभिन्न संगठनहरुले गरेको निवेदनमा तत्काल सुनुवाइ गर्न माग गरिएको संगठनका महासचिव राम कुमार रिजाल(एलन)ले जानकारी दिए।उनका अनुसार अन्यथा समाजवादी प्रेस संगठनले यसको प्रतिवादमा उत्रने छ ।

सम्बन्धित समाचार