विगत लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत रित्त रहेको सर्लाहीको हरिवन नगरपालिकाको अधिकृतको रुपमा लेखा प्रमुख प्रतिक कार्कीलाई जिम्मेवारी दिईएको छ । जिल्लाको हरिवन र हरिपुर नगरपालिकामा विगत करिब तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा प्रभावित भएको कामलाई सुचारु गर्नका लागि नगरपालिकाका लेखा अधिकृत कार्कीलाई अर्को व्यवस्था नहुँदासम्म प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले जानकारी दिए ।
उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा प्रमुख कार्कीलाई तत्कालका लागि आर्थिक अधिकारसहित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा सरुवा भएर गएदेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएको थियो ।प्रमुख प्रशासकीय अधिकृतको अभावमा कर्मचारीले दशैँपछि तलब भन्दा खान पाएका थिएनन् ।अन्य आर्थिक लगायतका धेरै कारोवार पनि ठप्प भएको नगर उप प्रमुख हरिमाया घलानले बताईन्।उनका अनुसार मन्त्रालयले नगरपालिकामा कार्यरत लेखापाल शेख अख्तर रजालाई लेखा प्रमुखको जिम्मेवारी तोकेर पत्र पठाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत कार्की र रजाले लेखा प्रमुखको जिम्मेवारी पाएपछि मंगलबार नगरपालिका जनप्रतिनिधिहरु तथा कर्मचारीहरुले फूलमाला,अविर र खादाले सम्मान गरेका छन्।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मन्त्री राज कुमार गुप्ताले आफु अनुकुलका कर्मचारीहरुलाई स्थानीय तहमा पठाउने तयारी गरेका साथै आफ्नो स्वर्थ परिपुर्ति नहुँदा बरु स्थानीय तहहरु खाली राख्न खोजेका हरिपुर नगरपालिकाका नगर प्रमुख गोपाल कुमार पञ्जियारले बताए ।