सर्लाहीको लालबन्दी नगरपालिका १४ स्थित नारायण खोला क्षेत्रमा लगाईएको लागु औषध गाँजा प्रहरीले फँडानी गरि नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाही र शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीको संयुक्त टोलीले लालबन्दी नगरपालिका १४ स्थित नारायण खोला क्षेत्रमा लगाईएको लागु औषध गाँजा करिब १२ बिघा फँडानी गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मलंगवा,सर्लाहीका प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंह थारु र शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरिक्षक विनोद राज खनालको नेतृत्वमा नारायण खोला पुगेको प्रहरी टोलीले करिब १२ बिघा लागुऔषध गाँजा फँडानी गरि नष्ट गरेको हो ।सर्लाहीको पहाडी चुरे क्षेत्रका साथै छिमेकी जिल्ला सिन्धुलीको मरिण र हरिहरपुरगढी गाउँपालिकाका वन क्षेत्रमा लागु औषध गाँजाको खेती हुने गरेको छ।अन्य खेतीपाती नहुने सो क्षेत्रमा लागुऔषध गाँजा खेती गरी राम्रो अर्थाेपार्जन हुने भएकाले स्थानीयको पहिलो रोजाई लागु औषध गाँजा हुने गरेको पाइएको छ ।
लागु औषध गाँजा खेती सुरु गर्ने समयदेखि नै ठेकेदारहरुले प्राविधिक देखि मल समेत पठाउने र तयारी गरी आफैँ उठाउने गरेका कारण घरमै थोरै मेहनतमा मनग्य आम्दानी हुने भएकाले सो क्षेत्रमा लागुऔषध गाँजाको उत्पादनहुने गरेको पाइएको जानकारहरु बताउँछन् । प्रहरीले वर्षेनि नारायणखोला पुगेर त्यहाँका स्थानीयले लगाएको लागु औषध गाँजा फडानी गरी नष्ट गर्दै आइरहेको भएपनि लागु औषध गाँजा लगाउने क्रम भने रोकिएको छैन् ।बरु केही ठाउँको लागु औषध गाँजा फँडानी गरि अन्य ठाउँबाट प्रहरीले चर्काे कमिसन असुल्ने गरेको आरोपहरु आउने गरेका छन् ।सरकारले गाँजा खेतीलाई वैद्यानिकता दिने लामो समयदेखि चर्चा चलि रहेको भएपनि गाँजा खेती नेपालमा अवैध नै रहेको छ ।