सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समिति हरिवनको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।हरिवन नगरपालिका ८ का वडा अध्यक्ष एवम संस्थाका अध्यक्ष प्रज्वल ढुंगानाको अध्यक्षता एवम सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहाको प्रमुख आतिथ्यतामा संस्थाको आफ्नै कार्यालय परिसरमा साधारण सभा सम्पन्न भएको संस्थाका सचिव नविन थापाले जानकारी दिए ।उनका अनुसार संस्थाले गत आर्थिक वर्ष २०८०/०८१ मा रु ५४ लाख चार हजार नौ सय २२ कारोबार गर्दै ११ लाख ६४ हजार नौ सय ७१ रुपैया २६ पैसा खुद मुनाफा गरेको छ ।
दुई वर्षअघि वर्तमान समितिले कार्यभार सम्हाल्दा रु ३९ लाख आर्थिक बचत रहेकामा हाल रु ७५ लाख बचत पुगेको संस्थाकी कोषाअध्यक्ष यशोदा भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।दोहोरो पाइपलाइन विस्तार गर्दै हाल कायम एक हजार आठ सय ५० घरधुरीबाट चालु आर्थिक वर्ष भित्रै तीन हजार घरधुरीमा खानेपानी सेवा पुर्याउने संस्थाले लक्ष्य राखेको संस्थाका सदस्य सुरेश भट्टराईले जानकारी दिए।उनका अनुसार हाल दुईवटा डिप बोरिङबाट उपभोक्तालाई खानेपानी वितरण गरि रहेको र चालु आर्थिक वर्षभित्रै अर्काे डीप बोरिङ गाडेर तीनवटा मोटर एकसाथ चलाउँदै उपभोक्तालाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउने संस्थाले लक्ष्य राखेको छ ।
पाँचौँ वार्षिक साधारण सभामा हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलान,प्रमुख प्रशासकीय अधिकृत प्रकित कार्की लगायत विभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिति रहेको संस्थाले जनाएको छ ।अघिल्लो कार्याकालको आर्थिक व्यावस्थापन पादर्शि नदेखिएकाले सो सम्बन्धमा थप छलफल गरेर समस्या समाधान गर्नुपर्ने समिति रउपभोक्ताबाट माग भएपछि सो सम्बन्धमा बसेर छलफल गर्ने सहमती भएको समितिका एक सदस्यले बताए ।