सात महिनामा सर्लाहीका प्रमुख जिल्ला अधिकारी अधिकारीको सरुवा

418 Shares

नेपाल सरकार गृह मन्त्रालयले ११ जना सह सचिवहरु र एक जना उप सचिवको एकै पटक सरुवा गरेको छ । गृह मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहित ११ जना सह सचिवहरुको सोमबार सरुवा गरेको हो।मन्त्रालयले सर्लाहीका प्रमुख जिल्ला अधिकारी अधिकारीको जिल्ला प्रशासन कार्यालय झापा सरुवा गरेको गृह मन्त्रालयका सूचना अधिकारी दिल कुमार तामाङले जानकारी दिए । 
उनका अनुसार जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको जिल्ला प्रशासन कार्यालय सुनसरी,जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई गृह मन्त्रालय,गृह मन्त्रालयका सह सचिव गोगन बहादुर हमालको जिल्ला प्रशासन कार्यालय कैलाली,गृह मन्त्रालयका सह सचिव तुलसी बहादुर श्रेष्ठको जिल्ला प्रशासन कार्यालय सर्लाही,जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको गृह मन्त्रालय,जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँस्तोलाको गृह मन्त्रालय,गृह मन्त्रालयका सह सचिव इन्द्र देव यादवको जिल्ला प्रशासन कार्यालय मोरङ,जिल्ला प्रशासन कार्यालय काठमाण्डौँका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्यको गृह मन्त्रालय,गृह मन्त्रालयका सह सचिव एवम प्रवक्ता ऋषिराम तिवारीलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौँ,जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीको गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दाङकी सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनको जिल्ला प्रशासन कार्यालय सल्यान सरुवा भएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी अधिकारीको सात महिना मै सर्लाहीबाट सरुवा भएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी अधिकारीको सर्लाहीका क्रसर उद्योगहरु माथि कडाई गरेका कारण सातै महिनामा सरुवा भएको केही स्थानीय जानकारहरुले बताएका छन् । जिल्लास्तरिय अनुगमन समिति र उप समितिले करिब एक साता पहिला सर्लाहीका सबै १४ वटै क्रसर उद्योगहरुलाई पत्र बुझाएर मापदण्ड नपुगेको भन्दै बन्द गराएको थियो ।सर्लाहीका सबै १४ वटै क्रसर उद्योगहरु अहिले बन्द अवस्थामा छन् ।

सम्बन्धित समाचार