सर्लाहीको क्षेत्र नम्बर १ स्थित लालबन्दी नगरपालिका भित्रका तीनवटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र परिचालन गरिने भएको छ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन गराउन सर्लाहीको क्षेत्र नम्बर १ अन्तर्गतका तीनवटा मतदान केन्द्रमा महिला कर्मचारीलाई मात्र जिम्मेवारी प्रदान गरिएको हो ।लालबन्दी नगरपालिका १० चन्द्रपुरमा रहेको आधारभूत विद्यालय चन्द्रपुर मतदान केन्द्र (क) र (ख)तथा लालबन्दी नगरपालिका ८ मा रहेको लालबन्दी नगरपालिकाको नयाँ भवन (ख) मतदान केन्द्रमा सम्पूर्ण महिला कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषीराम पौडेलले बताए ।
उनका अनुसार आधारभूत विद्यालय चन्द्रपुर (क) मतदान केन्द्रमा उष्ण प्रदेशीय बागवानी केन्द्र नवलपुरमा कार्यरत बागवानी विकास अधिकृत अन्जु चौधरीलाई मतदान अधिकृत,लालबन्दी नगरपालिकामा कार्यरत वडा सचिव ललिता कुमारी सिग्देललाई सहायक मतदान अधिकृत,खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवामा कार्यरत महिला कार्यकर्ता पुनम मात्य,प्रेमज्योति आधारभूत विद्यालय लालबन्दी नगरपालिका ६ मा कार्यरत नि.मा.वि. शिक्षक सुस्मिता चौलागाई र जानकी माध्यमिक विद्यालय लालबन्दी नगरपालिका ७ मा कार्यरत प्रा.वि. शिक्षक शारदा काफ्ले (आचार्य) लाई सहायक कर्मचारी तथा लालबन्दी नगरपालिकामा कार्यरत कार्यालय सहयोगी अम्बिका कुमारी दाहाललाई खटाइएको छ ।
त्यसैगरी आधारभूत विद्यालय चन्द्रपुर (ख) मतदान केन्द्रमा श्री ५ महेन्द्र जनता मा.वि. बागमती नगरपालिका ११ मा कार्यरत मा.वि.तृतीय शिक्षक ज्योति कार्कीलाई मतदान अधिकृत, हरिपुर नगरपालिका ८ मा कार्यरत अधिकृत छेठौं संगीता श्रेष्ठलाई सहायक मतदान अधिकृत, लालबन्दी नगरपालिकामा कार्यरत महिला विकास निरीक्षक डाक कुमारी फूँयाल,ईश्वरपुर बेला मा.वि.मा कार्यरत प्रा.वि.तृतीय शिक्षक बबिता अधिकारी र जनज्योति माध्यमिक विद्यालय लालबन्दी नगरपालिका ९ मा कार्यरत प्रा.वि.तृतीय शिक्षक सीता पराजुलीलाई सहायक कर्मचारी तथा आधारभूत विद्यालय लालबन्दी नगरपालिका ८ खतिवडा चोकमा कार्यरत कार्यालय सहयोगी उमा कुमारी खतिवडालाई खटाइएको सर्लाही क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत टीका बहादुर थापाले बताए ।
यस्तै,लालबन्दी नगरपालिका ८ स्थित लालबन्दी नगरपालिका कार्यपालिकाको नयाँ भवन (ख) मतदान केन्द्रमा राष्ट्रिय वाणिज्य बैङ्क लालबन्दी शाखाका सहायक प्रवन्धक सीमा काफ्लेलाई मतदान अधिकृत,रेल योजना कार्यालय लालबन्दीमा कार्यरत कम्प्युटर अपरेटर अमृता लुङ्गेलीलाई सहायक मतदान अधिकृत,जनज्योति मा.वि.लालबन्दीमा कार्यरत नि.मा.वि.तृतीय शिक्षक नवीना चौलागाई,प्रेमज्योति आधारभूत विद्यालय लालबन्दी नगरपालिका ६ मा कार्यरत प्रा.वि.द्धितीय शिक्षक आशा कुमारी घिमिरे र प्रेमज्योतिकै बालविकास शिक्षक अनिसा दुलाल(कार्की)लाई सहायक कर्मचारीको रुपमा तथा जिल्ला हुलाक कार्यालय सर्लाहीमा कार्यरत कार्यालय सहयोगी गीता कुमारी न्यौपानेलाई खटाइएको छ ।
समावेशिताको सम्मान र महिला कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले तीनवटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगीसम्म महिला मात्र खटाइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।त्यस्तै लालबन्दी नगरपालिका १३ पत्थरकोटमा रहेको कुशेश्वर आधारभूत विद्यालय छेडा (ख) मतदान केन्द्रमा शिक्षकहरुलाई मात्र खटाइएको छ।सर्लाहीमा फागुन २१ को निर्वाचनका लागि जिल्लाभर तीन हजार सात सय ६८ जना कर्मचारी खटिनेमा उत्त मतदान केन्द्रमा शिक्षकहरु मात्र खटिएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।