रास्वपा सभापति लामिछानेसहितका प्रतिवादीलाई धरौटीमा रिहा गर्ने कास्की अदालतको आदेश

351 Shares

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सहितका सबै प्रतिवादीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ।न्यायाधीश नितिज राईको इजलासले प्रतिवादी सबैलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । आदेशअनुसार लामिछानेसँग रु ६५ लाख धरौटी माग भएको छ ।त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग रु ८८ लाख,लिला पछाईसँग रु ३७ लाख, राम खनालसँग रु १५ लाख,कृष्ण गुरुङसँग रु एक लाख, मिना गुरुङसँग रु पाँच लाख र आरती गुरुङसँग रु पाँच लाख धरौटी माग गरिएको छ ।
गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।रास्वपा सभापति लामिछाने माथि संगठित अपराधका साथै सम्पती शुद्धिकरणको समेत मुद्धा दायर भएको छ ।बिहीबार छुटेका रास्वपा सभापति लामिछाने आज वा आईतबार आफैँ काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने जनाइएको छ ।उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारीको रु एक अर्ब १९ करोड ४८ लाख बिगोको अभियोग पत्र मुद्दा दायर भएको छ।उक्त मुद्दामा लामिछानेसहित ३८ जना प्रतिवादी बनाइएको छ ।
लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुरमा पनि मुद्दा चलेकाले कास्कीमा झैँ काठमाडौँमा पनि पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्ने बहस हुने न्यायलय स्रोतले जनाएको छ। 
त्यसपछि काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी माग गर्ने निर्णय सुनाउनेछ।जिल्ला न्यायाधीशले धरौटीमा रिहा गर्ने आधार देखे धरौटी माग गर्नेछन्।थुनामा पठाउने आधार देखे पुर्पक्षका लागि थुनामा पठाउने न्यायलय स्रोतले जनाएको छ ।अदालतले धरौटी माग गरे उनी उक्त रकम बुझाएर रिहा हुन सक्छन्।तर,सरकारले लामिछानेलाई काठमाडौँबाटै उन्मुक्ति नदिने रणनीति अख्तियार गर्ने जानकारहरु बताउँछन् ।उनीविरुद्ध चितवन, पर्साको वीरगन्ज र रुपन्देहीलगायत स्थानको सहकारीको रकम गोर्खा मिडियामा ल्याउँदै दुरुपयोग गरेको अभियोगमा पूरक जाहेरी दर्ता गरी अनुसन्धान चलि रहेकै छ।हालसम्म काठमाडौँबाहेक अन्य जिल्लामा अभियोगपत्र भने दायर नभएको पाइएको छ ।

अभियोगपत्र दायर नगरिए पनि लामिछानेको हकमा अनुसन्धानका लागि हिरासतमा राख्न सक्ने विकल्प प्रहरीसँग रहेको बुझिएको छ।आइतबार काठमाडौँमा बहस सुरु भए त्यसपछिको सातामा अर्को जिल्लामा अभियोगपत्र पेस गर्दै त्यहाँ लामिछानेलाई लैजाने सम्भावना देखिने जानकारहरुको भनाई छ ।उनीहरुका अनुसार एकपछि अर्को जिल्ला अदालतमा पेस गर्दै उनी सबै अदालतबाट धरौटीमा रिहा भए मात्र छुट्नेछन्।त्यसका लागि उनले सबै जिल्ला अदालतबाट माग भएको धरौटी रकम बुझाउनुपर्ने हुन्छ।कुनै अदालतमा धरौटी रकम बुझाउन नसके उनी पुर्पक्षका लागि थुनामा बस्नुपर्छ।पाँचमध्ये कुनै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको अवस्थामा उनी थुनामै बस्नुपर्ने हुन्छ ।
कास्कीको मुद्दा अब कसरी अघि बढ्छ ?
कास्की जिल्ला अदालतले बिहीबार अभियोगपत्र दायर भएपछि पहिलो सुनुवाइ गर्दै धरौटी माग गरेको हो।अब अदालतले आफ्नै रूपमा मुद्दा अघि बढाउनेछ।अदालतले अबका पेसीमा प्रमाण झिकाउने र थप सरकारी साक्षी बुझ्ने आदेश गर्दै अघि बढ्नेछ ।जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार पहिलो थुनछेक आदेश भएको छ । अब नियमित प्रक्रियामा सुनुवाइ अघि बढ्नेछ।अदालतले आवश्यक प्रमाण झिकाउँदै सबैसँग लिखित जवाफ मागेर अन्तिम फैसला सुनाउनेतिर अघि बढ्नेछ।जिल्ला अदालतले प्रमाण र साक्षीको बयान सकेपछि फैसला सुनाउनेछ ।
जिल्ला अदालतले तत्कालीन समयमा प्राप्त प्रमाणलाई मूल्यांकन गरेर अन्तिम फैसला सुनाउनेछ । अन्तिम फैसला सुनाउँदा जिल्लाले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी पनि पुग्ने कि नपुग्ने निर्णय गर्नेछ।अदालतले लामिछानेसहित सबै प्रतिवादीमाथि दाबी पुग्ने ठहर गरे बिगो,जरिवाना अनि कैदको सजाय सुनाउनेछ ।प्रमाण नपुग्ने देखेमा अभियोगबाट सफाइ दिनेछ।लामिछानेले सबै जिल्ला अदालतबाट सफाइ पाए उनी सहकारी ठगीमा चोखिन्छन्।पाँचवटै जिल्ला अदालतमा यही प्रक्रियाबाट सुनुवाइ हुनेछ।कुनै पनि एउटा अदालतले दोषी ठहर गरेमा उनी दोषी हुनेछन् ।
जिल्लाले सफाइ दिए सरकार उच्च अदालतमा जाने सम्भावना पनि देखिएको छ।सरकार उच्चबाट पनि चित्त बुझाउन नसके सर्वोच्चसम्म जान सक्ने बुझिएको छ।यसरी एकपछि अर्को अदालत जाने अधिकार लामिछानेसहित प्रतिवादीलाई पनि हुनेछ।यो विवादको अन्तिम किनारा भने सर्वोच्च अदालतमै पुगेर हुने बुझिएको छ,भने रास्वपाका नेता तथा कार्यकर्ताहरु र लामिछाने समर्थकहरुले वर्तमान गठबन्धन सरकार कुनैपनि हालतमा लामिछानेलाई फसाउने  नियोजित षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । 

सम्बन्धित समाचार