मधेश प्रदेश शैक्षिक मरुभूमिकरण बन्दै गरेको शिक्षकहरुको गुनासो

387 Shares

नेकपा(माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेश प्रदेशको दोस्रो प्रदेश परिषद् सम्पन्न भएको छ।महोत्तरीको बर्दिवासमा माओवादी केन्द्रका उप महासचिव गिरीराजमणी पोख्रेलको प्रमुख आतिथ्यतामा भएको दोस्रो प्रदेश परिषद्मा मधेश प्रदेशको शैक्षिक अवस्थालाई कसरी  उकास्न सकिन्छ ।भन्ने विषयमा विशेष छलफल भएको एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेश प्रदेशका अध्यक्ष एवम केन्द्रीय सचिव भूपनारायण अधिकारीले जानकारी दिए ।
मधेश प्रदेशको शैक्षिकस्तरलाई उकास्न मधेसका दुई बहुसंख्यक समुदाय दलित र मुस्लिम समुदायको शैक्षिक अवस्था उकास्न आवश्यक रहेको र समाजवाद यी दुई समुदायको शैक्षिकस्तर नउकासी नआउने कार्यक्रमका प्रमुख अतिथि एवम माओवादी केन्द्रका उपमहासचिव पोख्रेलले बताए ।उनले मेधशका दुई बहुसंख्यक समुदाय दलित १८ प्रतिशत र मुस्लिम १२ प्रतिशत गरी ३० प्रतिशत जनसंख्या अझैपनि शिक्षाको पहुँच भन्दा बाहिर रहेकाले यी समुदायको शैक्षिक उकास्न छुट्टै किसिमको छलफल र बहस आवश्यक रहेको बताए ।
कार्यक्रमका अध्यक्ष एवम एकीकृत अखिल नेपाल शिक्षक संगठन मधेश प्रदेशका अध्यक्ष एवम केन्द्रीय सचिव अधिकारीले मधेश शैक्षिक मरुभूमिकरण बन्दै गएको र शिक्षा खोक्रो भएर कुनै देश समृद्ध बनेको इतिहास नरहेको भन्दै अहिलेको समयमा कुनै पनि देशका लागि मानवस्रोत सबैभन्दा महत्वपूर्ण हुने र महत्वपुर्ण मानव स्रोतको आधार नै शिक्षा रहेको प्रतिवेदन पेश गरेका छन् ।
अध्यक्ष अधिकारीले पेश गरेको प्रतिवेदनमा “विद्यालय शिक्षाले समुदाय र राज्यलाई प्रत्यक्ष र प्रभावकारी रूपमा जोड्न सक्छ। यही माध्यमबाट राज्यले परिकल्पना गरेको जस्तो सामाजिक रूपान्तरणका आधारहरू निर्माण गर्ने बीउ समाजमा सहजै पुग्न सक्छ।समाजलाई ऊर्जावान् बनाउने देखि लिएर स्थानीय स्रोत साधनको उपयोग गर्ने ज्ञानले अवसर र सम्भावना देखाउन सक्छन्।त्यसैले विद्यालय शिक्षाप्रति राज्यले संवेदनशीलता बढाउनु अति आवश्यक रहेको छ।तर अहिलेको अवस्थामा केही विद्यालयमा बाहेक मुलुकभर विद्यालय शिक्षाको अवस्था सन्तोषजनक छैन।त्यसमा पनि मधेशमा कहालीलाग्दो अवस्था छ।मधेशको शिक्षाप्रति राज्य नै उदासीन देखिन्छ ।”भनिएको छ ।
कुनै समाज सामाजिक,आर्थिक,राजनीतिक र सांस्कृतिकरूपले अगाडि जानुमा मुख्यतःशिक्षाले भूमिका निर्वाह गरेको हुने तथा शिक्षाबिना कुनै पनि सभ्य समाजको पकिल्पना गर्न नसकिने र कुनै समय शिक्षाको आधारस्थल भनेर चिनिने मधेस अहिले शैक्षिक मरुभूमीकरणको संघारमा पुगेकाले राज्य यस विषयमा गंभिर हुनु पर्ने आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मधेश प्रदेशका विद्यालय शिक्षा तथा उच्च शिक्षा दयनीय अवस्थामा छन्।नेपालको समग्र साक्षारता
दर ७६ दशमलव दुई प्रतिशत हुँदा मधेशको ५४ दशमलव सात प्रतिशत मात्रै छ।शिक्षा समेतको सूचकांक मानिने मानव सूचकांक पनि धेरै न्यून ०१५१९ मात्र रहेको छ।७७ जिल्ला मध्ये कम साक्षरता दर भएका पाँच जिल्ला मध्ये चार जिल्ला रौतहट ५७ प्रतिशत,बारा र महोत्तरी ५९÷५९ प्रतिशत र सर्लाही ६० प्रतिशत मधेश प्रदेश मै रहेकाले आदर्शका कुरा गर्ने भन्दा संविधानले दिएको मौलिक र नैसर्गीक अधिकारका लागि सरकार गंभिर हुन आवश्यक रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका उपा अध्यक्ष शंकर अधिकारीले बताए ।
उनले बारामा आठ दशमलव चार प्रतिशत,पर्सामा ११ दशमलव दुई प्रतिशत,महोतरीमा नौ दशमलव दुई प्रतिशत,रौतहटमा १२ दशमलव नौ प्रतिशत, सर्लाहीमा सात प्रतिशत,सिराहामा पाँच दशमलव ६२ र धनुषामा तीन दशमलव नौ प्रतिशत बालबालिका अहिले पनि विद्यालय भन्दा बाहिर रहेका छन् ।कुनै समयमा मधेशका शिक्षकले हिमाल तथा पहाडसम्म पुग्दै शैक्षिकस्तर उकास्ने काममा योगदान गरेका भएपनि अहिले मधेश प्रदेश शिक्षामा नै सबै भन्दा पछाडि परेको समेत उनले बताए ।
मधेश प्रदेशको कमजोर शैक्षिक अवस्था सुधार गर्न विगतमा जस्तो राज्यबाट आउने स्रोतहरूमा मधेसलाई गरिएको अन्यायको अन्त्य हुनु आवश्यक रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य हिरालाल महतोले बताए । उनका अनुसार एकातर्फ संघीय सरकारको ध्यान जानुपर्ने र थप स्रोत–साधनको व्यवस्था गरिनुपर्ने आवश्यक छ भने प्रदेश सरकार र स्थानीय सरकारहरू सुधारका लागि अभियान नै सञ्चालन गर्न लागि पर्नु पर्ने छ ।
शिक्षाको पहुँचको दृष्टिले मात्र नभई गुणस्तरको दृष्टिकोणबाट पनि मधेश प्रदेश कमजोर छ भन्ने कुरा परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गरेको विभिन्न शैक्षिक वर्षहरुको नतिजालाई तुलना गर्दा थाहा पाउन सकिने विषयमा चर्चा भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय परिषद् सदस्य ओमबहादुर कार्कीले बताए ।उनका अनुसार शैक्षिक गुणस्तर परीक्षण केन्द्रले गत वर्ष लिएको कक्षा आठको विज्ञान,गणित र नेपाली विषयको परीक्षामा पनि मधेसका विद्यार्थीहरुको उपलब्धि पहाडी क्षेत्र र हिमाली क्षेत्रका विद्यार्थीको भन्दा कमजोर देखिँदा मधेश प्रदेशका बालबालिकाले पाएको विद्यालय शिक्षा पनि अन्य प्रदेशको तुलनामा कम गुणस्तरीय छ भन्ने प्रस्ट भएको छ ।
मधेश प्रदेशका आठ जिल्लाका एक सय ३६ वटा पालिका मध्ये एउटा पनि स्थानीय तह साक्षर घोषणा हुन नसक्नु दुखको कुरा रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय परिषद् सदस्य ध्रुव भण्डारीले बताए ।उनले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले साक्षरता सम्बन्धी कुनै कार्यक्रम नै बनाएको आरोप लगाउँदै विकास निर्माण मै धेरै बजेट छुट्टिने तथा साक्षरतालाई प्रदेश सरकारले प्राथमिकतामा नराखेको समेत बताए ।
कार्यक्रममा सहभागी वक्ताहरुले मधेश प्रदेशलाई साक्षर बनाउन मधेश सरकारसंग कुनै योजना नरहेको बताए ।उनीहरुले शिक्षाको गुणस्तरका लागि शिक्षकलाई मात्रै दोष दिन नमिल्ने बताउँदै तिनको क्षमता बढाउने,सिक्ने वातावरण बनाउने र उत्साह थप्ने जिम्मा मधेश प्रदेश सरकारले लिनुपर्ने समेत बताए ।
कृषि विश्वविद्यालय,वाटर मेनेजमेन्ट युनिभर्सिटी,हर्वल युनिभर्सिटी,वन विश्वविद्यालय,टुरिजम स्टडी सेन्टरलगायत मातृभाषा उत्थान प्रवद्र्धनका निम्ति भाषा विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको मधेश प्रदेशका आठै जिल्लाका अध्यक्षहरुले गरेको रिपोर्टिङको सुझाब छ ।

सम्बन्धित समाचार