भूमि समस्या समाधान आयोग,जिल्ला समिति सर्लाहीको अध्यक्षमा इश्वरपुर नगरपालिका १२ का मदन बहादुर वि.क नियुक्त भएका छन्।भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्र्तगतको भूमि समस्या समाधान आयोग,जिल्ला समिति सर्लाहीको अध्यक्षमा वि.कलाई नियुक्त गरेको हो ।
भूमि समस्या समाधान आयोग गठन आदेश,२०८१ को दफा ८ को उपदफा (३) बमोजिम पदावधि कायम हुने गरी मन्त्रीस्तरीय निर्णयबाट लामो समयदेखि भूमि अधिकारबाट वञ्चित समुदायको अधिकारका लागि संघर्षरत सामाजिक अभियन्ता वि.क.लाई भूमि समस्या समाधान आयोग,जिल्ला समिति सर्लाहीको अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए ।उनका अनुसार सरकारले कोशी प्रदेशका १०,मधेशका छ,बागमतीका आठ,गण्डकीका पाँच, लुम्बिनीका १२, कर्णालीका आठ र सुदूरपश्चिम प्रदेशका सात जिल्ला गरी सातै प्रदेशका सर्लाही सहित ५६ जिल्लामा भूमि आयोगको गठन गरेको हो मन्त्रालयका अनुसार बाँकी रहेका २१ जिल्लाका अध्यक्षहरु भने नियुक्त हुन बाँकी रहेका छन् ।
सत्तारुढहरु दलहरुबीच कांग्रेसले ३५,एमालेले ३५ र जनता समाजवादी पार्टी(जसपा)ले चार र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले तीन जिल्लाको अध्यक्ष सिफारिस गर्नेगरी सहमति भएको मन्त्रालयले जनाएको छ ।मन्त्रालय स्रोतका अनुसार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयमा बसेर भागबन्डा टुंग्याएका हुन ।
सर्लाहीमा भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुका समस्याको समाधान गर्न सक्रिय भूमिका खेल्ने नव नियुक्त अध्यक्ष वि.कले बताए ।उनले भूमि समस्या समाधानका कार्यलाई अझ प्रभावकारी बनाउन आफुले सकेको समन्वय गर्ने बताएका छन् ।