Close This

सिन्धुली पनि आइपुग्यो सलह किरा

पत्र पत्रिका    प्रकाशित: २०७७-३-१३ गते   ३६६ पटक हेरिएको

भारतको बिहारतर्फबाट प्रवेश गरेको सलह फट्याङ्ग्रा सिन्धुलीमा पनि आइपुगेको छ । शनिबार तराईका विभिन्न सीमानाका हुँदै नेपाल प्रवेश गरेको सलहको एउटा सानो झुण्ड सिन्धुली आइपुगेको हो । 

जिल्लाको कमलामाई नगरपालिका २ को चियाबारी, सिमबारी, लामिस्वारा, मुडेखर्क, खुर्सानी डाँडा, खोपीखर्क, कनपा ८ को माइस्थान, करकरे र कमलामाई नगरपालिका १० को भिमान तथा भडार क्षेत्रमा सलह समुह-समुहमा देखिएको स्थानीयले बताए।  चियाबारी क्षेत्रमा किसानले लगाएका मकै तथा धानको ब्याड र जंगलको रुख विरुवामासमेत छपक्कै सलह भेटिएको स्थानीय बाबुराज थापाले अन्नपूर्णलाई बताए । उनका अनुसार शनिबार दिउँसो करीब १/२ बजेपछि सलह देखिएको हो । ‘सलह मकै र धानको रौप्दैनरोपेको ब्याडमा बसेपछि स्थानीय जम्मा भएर टिन ठटाएर लखेट्न थालेका छौं,’ थापाले भने । 

चियाबारी क्षेत्रमा वडाको पश्चिमी क्षेत्रबाट सलहको प्रवेश भएको उक्त वडाका वडाअध्यक्ष नवराज थिङ्ग बताउँछन् । कमलामाई नगरपालिका ८ का विभिन्न क्षेत्रमा किसानले लगाएको मकैमा सलह फट्याङ्ग्रा बसेर क्षति गर्न थालेको स्थानीय चक्र मगरले बताए। भिमानको भँडार क्षेत्रमा भने सलह शनिबार बिहान करीब १० बजेको आसपासमा देखिएको स्थानीय किरण कार्कीको भनाइ छ । 

अचानक देखिएको सलहले धान, मकै, उखु तथा अन्य बालीमा बसेर डाँठै खाएको कार्कीले बताए । ‘तर, दिउँसोको समय भएर होला मान्छेको चहलपहल भएपछि भने बसेको ठाउँबाट उडेर समुहमा नै अन्यत्र जाने गरेको पाइयो,’ कार्कीले भने । सलह देखिएसँगै किसान चिन्तित भएका छन् ।

शनिबार बिहानै तराईका जिल्लामा देखिएका सलह नै सिन्धुली आइपुगेको हुन सक्ने प्रधानमनत्री कृषि आधुनिकीरण परियोजना जुनार सुपरजोनका वरिष्ठ कृषि विकास अधिकृत देवराज अधिकारी बताउँछन् । उनले जिल्लामा देखिएका फट्याङ्ग्राका विषयमा कृषि मन्त्रालयका कृषि विज्ञहरुसँग छलफल गरिएको र यहाँ देखिएको फट्याङ्ग्रा सलह नै भएको पुष्टि भएको जनाए । सिन्धुलीमा आइपुगेको सलह ठूलो संख्यामा नभएर साना झुण्ड झुण्ड भएर प्रवेश गरेको उनको भनाइ छ । 

जिल्लामा पहिलो पटक आइपुगेको सलहले गरेको क्षतिबारे केही खुल्न नसके पनि यसको नियन्त्रण गर्न संवेदनशील भएर लाग्नु पर्ने अधिकारीको सुझाव छ । ‘शनिबार सिन्धुलीमा पनि सलह आइपुगेको पुष्टि भएको छ । यसले गर्ने क्षति न्यूनीकरण गर्न सबै संवेदनशील हुनु पर्छ । यसको नियन्त्रण गर्न नसक्ने हो भने यसले सबैखाले अन्न तथा नगदे बालीलाई छिनभरमै सखाप पारिदिन्छ,’ अधिकारीले भने । अमेरीकी फौजि किराको संक्रमणबाट बचेको मकै लगायतका अन्बालीमा सलह देखिएपछि कृषक आत्तिएका छन् । जिल्लाको सदरमुकाम क्षेत्रमा धान बाली र महाभारत क्षेत्रमा लगाइएको मकैमा सलहले क्षति गर्न सक्ने सम्भावना बढेको छ । 

सलह ठूला ठूला फट्याङ्ग्राहरूको विशाल बथान हो । हावाको दिशा पछ्याएर १ सय ३० किमि प्रतिघण्टासम्मको गतिमा समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोडसम्मको संख्या हुने विज्ञहरुको भनाइ छ ।http://annapurnapost.com/

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech