नेपाली कांग्रेस सर्लाहीका नेताहरुले सभापति एवम पुर्व प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएर केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका छन्।स्थानीय तह तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समयमा आफ्नै पार्टीका उम्मेदवारहरुलाई असहयोग गर्नेले आफुलाई नेपाली कांग्रेसको बादशाह सम्झी जिल्ला पार्टी सभापति सहितका इमान्दार नेता तथा कार्यकर्ताहरुको विरोधमा लागेका भन्दै कांग्रेस सर्लाहीका नेताहरुले नेपाली कांग्रेसका सभापती एवम पूर्व प्रधानमन्त्री देउवा सहित महामन्त्री द्धय गगन कुमार थापा,विश्वप्रकाश शर्मा र पूर्व गृह मन्त्री कृष्ण सिटौलालाई भेटी ज्ञापन पत्र बुझाएर केन्द्रीय कार्यालयमा धर्ना सुरु गरिएको नेपाली कांग्रेस सर्लाहीका सचिव निरज कार्कीले जानकारी दिए ।

उनका अनुसार सभापति एवम पुर्व पुव प्रधानमन्त्री देउवालाई सम्बोधन गरी नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा,ललितपुरमा पुगि कांग्रेस सर्लाहीका उप सभापति एवम जिल्ला संयोजक डा. सरोज कुमार यादव,जिल्ला सचिव मनोज कुमार यादव,कोषा अध्यक्ष विगु प्रसाद चौधरी र सह सचिव इन्द्र बहादुर योञ्जनले उपसभापतिहरु,महामन्त्रीहरु र केन्द्रीय अनुशासन समिति,सानेपा,ललितपुरलाई बोधार्थ लेखि ज्ञापन बुझाइएको हो ।

ज्ञापन पत्रमा“सर्लाही जिल्लामा मिति २०७९/०८/०४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस पार्टी एवम् गठबन्धनका साझा उम्मेदवारहरु विरुद्ध प्रचार–प्रसार गर्ने,पार्टीहित विपरीत काम गरेका पार्टीका जिल्ला उपसभापति नविन अधिकारी लगायतका केही व्यक्तिहरु उपर प्रतिनिधि सभा एवम् प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुले कारवाहीको लागी गरेको सिफारिस अनुसार नेपाली कांग्रेस जिल्ला अनुशासन समितिको मिति २०७९/०७/२९, २०७९/०७/३० र २०७९/०८/०१ गते बसेको बैठकले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को (ख) र (ग) अनुसार पार्टीबाट निलम्बन गरी सो को जानकारी नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमिति र नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपालाई जानकारी गराएकोमा नेपाली कांग्रेस मधेश प्रदेश अनुशासन समितिले २०८०/०५/३० गते जिल्ला अनुशासन समिति, सर्लाहीले गरेको निलम्बनलाई सदर गर्दै केन्द्रीय अनुशासन समिति लाई समेत सिफारिस गरेकोमा जिल्ला कार्य समितिले केन्द्रीय अनुशासन समितिलाई पटक पटक आग्रह गर्दा पनि आजको मिति सम्म केन्द्रीय अनुशासन समितिद्वारा जिल्ला अनुशासन समितिले विधान सम्मत गरेको निलम्बन कार्यान्वयन गर्न निर्देशन नदिएको कारण कृयाशिल सदस्यता वितरण तथा नविकरणमा समस्या उत्पन्न भएकोले यथाशिघ्र विधि र विधान अनुरुप केन्द्रीय अनुशासन समितिले निलम्बन कार्यान्वयन गर्न निर्देशन नगरेमा हामी सम्पूर्ण जिल्ला कार्यसमिति लगायत जिल्ला अन्तर्गतका सम्पूर्ण तह तप्काका नेता एवम् कार्यकर्ताहरु आन्दोलनको कार्यक्रमहरु तय गरी आन्दोलन गर्न बाध्य हुने छौं र त्यसको सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेस केन्द्रीय कार्यालय एवम् केन्द्रीय अनुशासन समिति नै हुने जानकारी गराउदछौं।”लेखिएको छ ।

वडा अध्यक्ष,गाउँपालिका अध्यक्ष,नगर प्रमुख तथा प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुलाई चुनाव हराउन अहम भूमिका निर्वाह गरेका भन्दै अधिकारीलाई कारवाही गर्न भन्दै कांग्रेस सर्लाहीका नेताहरुको बुझाएको ज्ञापन पत्र बुझ्दै पार्टी सभापति एवम पुर्व प्रधानमन्त्री देउवाले चाँडै कार्बाही गर्ने विश्वास दिलाएका नेपाली कांग्रेस सर्लाहीका सह सचिव योञ्जनले बताए।सो सम्बन्धमा नेपाली कांग्रेस सर्लाहीका जिल्ला उपसभापति नविन अधिकारीलाई बुझ्न र उनको प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।