Close This

परिक्षण बिनै बजारमा भारतीय आलु

रासस    प्रकाशित: २०७७-३-१४ गते   ४६७ पटक हेरिएको

जिल्लाका किसानहरुले आलुको उचित मूल्य नपाएको भन्दै गुनासो गरेका छन् । खुल्ला सिमाना हुँदै भारतीय आलु नेपाली बजारमा भित्रिएपछि आफूहरुले आलुको उचित  मूल्य नपाएको हजरीयाका किसान मुकेश महत्तोले गुनासो गर्नुभयो ।
भारतीय आलुका कारण यो वर्ष पनि लागत मूल्य  उठाउन मुस्किल परेको छ,’ उहाँले भन्नुभयो । अहिले रातो आलु प्रति केजी २८ रुपैयाँ र सेतो आलु प्रति केजी २४ रुपैयाँका दरले बिक्री भइरहेको छ। तीन वर्षदेखि लगातार घटेको आलुको मूल्य यो वर्ष पनि बढ्न नसकेपछि किसानले आलु खेतीको विकल्प खोज्न थालेका छन् ।


अर्का किसान शिवजी महतो भन्नुहुन्छ, ’पहिले आलु खेतीबाट राम्रै  फाइदा हुन्थ्यो,अब त लगानी उठाउन मुस्किल पर्न थालेको छ , गएको वर्ष पनि आलु खेतीबाट ६० हजार नोक्सान भयो, अब ऋण तिर्न नसकिने भयो ।’ पाँच वर्ष पहिले  प्रति केजी ३७ रुपैयाँमा बिक्री भएको आलु अहिले २५ देखि ३० रुपैयाँमा बेच्नु परेको अर्का किसान रोहन मतात्तोले गुनासो गर्नुभयो । 
सबैभन्दा बढी आलु उत्पादन जिल्लाको हजरिया, राजघाट,शंकरपुर, सुन्दरपुर  र बरहथवा  क्षेत्रमा हुने गरेको छ । “बजार मूल्य राम्रो नभपछि जिल्लाका किसानहरुले खेतबारी मै आलु थुप्रो लगाएर राखेका” कृर्षि ज्ञान केन्द्र मलंगवाका निमिक्त प्रमुख देवानन्द राय यादवले बताउनु भयो ।
लामो समयसम्म आलु जमिनमा राख्न नमिल्ने भएपनि जिल्लामा शीतभण्डारणको व्यावस्था नहुदा किसानहरु थप मारमा परेका हुन । जिल्लामा शीतभण्डारको लागि पटकपटक कुरा उठे पनि अहिलेसम्म कुनै काम नभएको स्थानीयले बताएका छन् ।
राम्रो माटो भएको जग्गामा प्रति  कठ्ठा  १० क्विन्टलसम्म आलु उत्पादन हुने गरेको किसानहरुले बताएका छन । भने विश्वव्यापी माहामारकिो रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९ ) को विरुद्धमा जारी लक डाउनको समयमा पनि नेपाली बजारमा भारतीय आलु आउँदा आफुहरु अच्चम्मीत भएको जिल्लाका किसानहरुले बताएका छन । अहिले जिल्लाका अधिकांश बजारहरुमा भारतीय आलु प्याज तथा कागतीको समेत विगविगी रहेको छ । छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेको जिल्लाका बजारहरुमा भारतीय बजारका तरकारीहरु तथा फलफुलहरु परिक्षण विना नै  भित्रने गरेका छन । 
लक डाउनले मानिसहरुको आवतजावत समेत रोक लगाईएको भएपनि भारतीय तरकारी तथा फलफुलहरु परिक्षण विनै नेपाली बजारमा आउने गरेका छन ।कागती,आलु प्याज,खुर्सानी लगायतका तरकारीहरु र स्याउ लगायतका अन्य फलफुलहरु यति बेला विना परिक्षण विना रोकटोक नेपाली बजारमा आउने गरेको पाईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech