सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकार नियोजित रुपमा लागि परेको प्रष्ट भएको छ ।बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा र उप प्रमुख लिला कुमारी मोक्तान सहित जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई भ्रष्टाचार सम्बन्धी कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी छानविनको क्रममा उनीहरु रहेका भएपनि त्यहाँबाट फसाउन सक्ने अवस्था नदेखेपछि वन सम्बन्धी मुद्धा लगाउने र उनीहरुलाई फसाउने नियोजित षडयन्त्र सुरु भएको प्रष्ट भएको छ ।
राष्ट्रिय वन तथा सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रको जग्गा अतिक्रमण नियन्त्रणका लागि मुख्य सचिवको संयोजकत्वमा अन्तर निकायको बैठक बसी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगतको वातावारण तथा विपद् व्यवस्थापन शाखाले बागमती नगरपालिकालाई सम्बोधन गरी पुस २५ गते निर्णय कार्यन्वयन सम्बन्धमा भन्दै लेखेपछि अहिलेको सरकार नियोजित रुपमा बागमती नगरपालिका माथि लागि परेको प्रष्ट भएको हो ।

सागरनाथ वन विकास परियोजना क्षेत्र अक्रिमण गरि भौतिक संरचना निर्माण गर्ने तथा वन पैदावारको अवैध संकलन गर्ने कार्य रोक्न,हालको अतिक्रमण हटाउन र थप वनक्षेत्र अतिक्रमण हुन तथा वन पैदावारको हानी नोक्सानी हुन नदिनेतर्फ वन तथा वातावरण मन्त्रालय,गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय,मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय सहित बागमती नगरपालिकाको नामै तोकेर पत्राचार गरेपछि राज्य नियोजित रुपमा लागि परेको प्रष्ट भएको हो ।सागरनाथ वन विकास परियोजना सर्लाही क्षेत्रमा विगत करिब २० वर्षदेखि सुकुम्बासी,दलित,भूमिहिनहरु खाली रहेको जमिनमा घर टहरा बनाई बसोबास गरि रहेका र सो क्षेत्रमा २०६५ साल अघि नै परियोजनाका कर्मचारीहरु र काठ तस्करहरुको मिलेमतोमा वन सखाप भएको स्थानीय जानकारहरु बताउँछन् ।
उनीहरुका अनुसार सरकारले पहिलो चरणमा बागमती नगरपालिका ४ र १२ स्थित बुढाी बागमती नदी उकासमा निर्माण भइरहेको बागमती माछा पोखरी(भरत ताल) पुर्ने र दोस्रो चरणमा ऐलानी जग्गामा विगत करिब दुई दशक देखि बसोबास गर्दै आएका सुकुम्बासी,दलित,भूमिहिनहरुलाई घरबार विहिन बनाउने कार्यमा सरकार लागि परेको छ ।

यता,बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतनिधिहरु र कर्मचारीहरुलाई नियोजित रुपमा फसाउने कार्यमा सरकार लागि परेको भन्दै नेकपा(माओवादी केन्द्र) सर्लाहीले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ ।
माओवादी केन्द्रका नेता एवम बागमती नगरपालिकाका नगरप्रमुख थापा,उपप्रमुख मोक्तानसहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि वन मुद्दा लगाउने षड्यन्त्र सुरु भएपछि माओवादी केन्द्र सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबनदी,सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीमा ज्ञापन–पत्र बुझाउँदै राजनीतिक प्रतिसोध साँधेर अन्यायपूर्ण व्यवहार गरिए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको माओवादी केन्द्रका नेता राज कुमार यादवले बताए ।
उनका अनुसार झुटा वन मुद्दा लगाएर जनप्रतिनिधि तथा कर्मचारीलाई फसाउने र भूमिहिन,दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई विस्थापित गर्ने प्रयास तत्काल बन्द गर्न माग गरिएको छ । माओवादी केन्द्रले राखेका मागहरु पाँच दिनभित्र पूरा नभए माघ १३ गते मोटरसाइकल र्यालीसहित विरोध प्रदर्शन र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा धर्ना दिने,माघ १४ गते मसाल जुलुस निकाल्ने, माघ १५ गते बागमती नगरपालिकाको पुतली चोकमा दुई घण्टा चक्काजाम र जनसभा गर्ने तथा माघ १६ गतेदेखि अनिश्चितकालिन चक्काजाम तथा सर्लाही जिल्ला बन्द गर्ने ज्ञापन–पत्रमा उल्लेख गरिएको छ ।

माओवादी केन्द्र सर्लाहीका इन्चार्ज इन्चार्ज अच्यूतम प्रसाद काफ्लेको हस्ताक्षरमा तयार पारिसएको ज्ञापन पत्र स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुढाथोकी,केन्द्रीय सदस्य सावित्रा बुढाथोकी,माओवदी केन्द्र मधेश प्रदेश कमिटि सदस्य राज कुमार यादव लगायत माओवादी केन्द्रका विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुको विशेष उपस्थितीमा जिल्ला प्रशासन कार्यालय सर्लाही,डिभिजन वन कार्यालय लालबनदी,सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीमा ज्ञापन–पत्र बुझाइएको माओवादी केन्द्र हरिवन नगर कमिटि अध्यक्ष अर्जुन पन्तले बताए ।
के हो वास्तविकता ?
बागमती नगरपालिका ४ र १२ मा निर्माण भई रहेको बागमती माछा पोखरी(भरत ताल) को विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यहाँबाट बागमती नगरपालिकाका नगर प्रमुख थापा सहित अन्य जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई फसाउन सक्ने अवस्था नदेखेपछि वन ऐन २०७६ बमोजिम वन मुद्दा लगाउने तयारी भएपछि तातेको माओवादी केन्द्र सर्लाहीले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,सागरनाथ वन विकास परियोजना सर्लाहीका प्रमुख खेमलाल वि.क र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झालाई ज्ञापन पत्र बुझाउँदै माओवादी केन्द्र सर्लाहीले ध्यानाकर्षण गराएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय वन तथा वातावरण मन्त्रालय र वन विभाग सहित सागरनाथ वन विकास परियोजना सर्लाही र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई पत्राचार गरी बागमती नगरपालिकामा ताल बनाउने क्रममा वन क्षेत्र अतिक्रमण गरीएको र वन विनाश गर्ने काम भएको भन्दै बागमती नगरपालिका का नगर प्रमुख थापा सहित उप प्रमुख लिला मोक्तान र अन्य जनप्रतिनिधि तथा कर्मचारीलाई वन मुद्दा लगाउने तयारी गरेपछि तातेको माओवादी केन्द्र सर्लाहीले प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, परियोजना प्रमुख वि.क र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख झालाई बुझाएको ज्ञापन पत्रमा “सर्लाहीको साविक ढुङ्ग्र्रेखोला,कर्मैया,राजघाट र शंकरपुर गाविस (हाल बागमती नगरपालिका)लगायतका स्थानहरुमा रहेका सार्वजनिक, ऐलानी जग्गा,नदी उकास वगर क्षेत्रहरुमा वर्षौं देखि बसोबास गर्दै आएका भूमिहिन,दलित,सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले जोतभोग (आमोद कमोद) गरि बसोवास गर्दै आएका छन्।

२०६४÷०६५ साल देखि सम्बन्धित निकायहरु जिल्ला प्रशासन कार्यालय सर्लाही र सागरनाथ वन विकास परियोजना सर्लाहीद्वारा आयोजना गरिएका सर्वदलीय तथा सरोकारवालाहरुको बैठकहरुको निर्णयबाट ती क्षेत्रहरुमा अव्यवस्थित बसोवासीहरुलाई व्यवस्थित गर्ने निर्णय भएको थियो।यस विषयमा पत्रपत्रिका र सरकारी निर्णयहरुले पनि पुष्टि गरेका छन्।तर पछिल्लो समय २०७४ मा स्थानिय तह निर्वाचनबाट नगर प्रमुख थापा,उपप्रमुख मोक्तान विजयी भए।यसै विषयलाई जोडि जनप्रतिनिधि तथा कर्मचारीहरुलाई मुछ्न खोज्नु न्यायसंगत होईन।किनभने उक्त क्षेत्रहरुमा पहिले देखि नै जोतभोग र बसोवास भएका यथेस्ट प्रमाणहरु यसै ज्ञापन पत्रमा संलग्न छन् ।यसर्थ बागमती नगरपालिका क्षेत्रमा वसोवास गर्दै आएका नागरिकलाई विस्थापित गर्ने र सोही वहानामा २०७४ सालको स्थानिय तहमा निर्वाचित नगर प्रमुख थापा र उपप्रमुख मोक्तान लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई समेत जोडी कपोकल्पित झुट्टा वन मुद्दा लगाउने षडयन्त्र गरिएको हुँदा यस्ता खाले षड्यन्त्र र राजनितिक प्रतिशोधपूर्ण कार्य प्रति माओवादी केन्द्र सर्लाहीको ध्यानाकर्षण भएको हो ।
बागमती नगरपालिकाका नगर प्रमुख थापा जस्ता लोकप्रिय इमान्दार ,विकासप्रेमी जनप्रतिनिधि र कर्मचारीलाई झुट्टा वन मुद्दामा फसाउने प्रयास हुनु र सुकुम्बासी, दलित र भूमिहिन जनतालाई विस्थापित गर्ने कदम चालिनु खेदजनक छ।बागमतीले संघ र प्रदेश सरकार समेतको अनुदानबाट बागमती नदी उकास क्षेत्र (बुढि बागमती) मा बागमती माछा पोखरी बनाई पालिकाले माछा पालन र पर्यटन प्रवद्र्धनका साथै आन्तरीक आय स्रोतको व्यवस्थापनको काम गरि रहेको छ।

तर यसलाई प्रोत्साहन गर्नुको सट्टा जनप्रतिनिधिहरु माथि झुटा आरोप लगाई राजनितिक प्रतिसोध साध्ने प्रपञ्च रचिनु अत्यन्त खेदजनक छ। सरकारको यो जनविरोधी कदमले संविधान,प्रचलित ऐन,कानुन र स्थानिय सरकारलाई दिएको अधिकारको ठाडो उल्लंघन गर्न खोज्दै छ।”उल्लेख गरिएको छ ।माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुढाथोकी, केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज काफ्ले,केन्द्रीय सदस्य सावित्रा बुढाथोकी सहित माओवादी केन्द्रका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी श्रेष्ठ,परियोजना प्रमुख वि.क र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख झालाई बुझाएको ज्ञापनमा “झुटा वन मुद्दा लगाई जनप्रतिनिधि तथा कर्मचारीहरुलाई फसाउने षड्यन्त्र तत्काल रोकियोस्, भूमिहिन,दलित, सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई विस्थापित गर्ने षड्यन्त्र तत्काल वन्द गरियोस्।,बागमती नगरपालिकाका नगर प्रमुख थापा र उपप्रमुख मोक्तान लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरुमाथि कपोकल्पित झुटा वन मुद्दा लगाउने षड्यन्त्र गरि राजनितिक प्रतिसोध साध्ने कार्य तुरुन्त वन्द गरियोस्।,राजनितिक प्रतिसोध साधेर अन्यायपूर्ण कुनै पनि कदम नचालियोस्।साथै आफुहरुमा माग पाँच दिन भित्र पुरा नगरिए चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौँ। आन्दोलनका क्रममा हुने कुनै पनि अप्रिय घटनाको सम्पूर्ण जिमेवारी सम्बन्धित निकायले लिनु पर्नेछ ।”भनिएको छ ।माओवादी केन्द्र सर्लाहीले माघ १३ गतेबाट १६ गते सम्म विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु समावेश गरी प्रमुख जिल्ला अधिकारी श्रेष्ठ,परियोजना प्रमुख वि.क र डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख झालाई ज्ञापन पत्र बुझाएको माओवादी केन्द्रका नेता राज कुमार यादवले बताए ।उनका अनुसार माघ ८ गते प्रमुख जिल्ला अधिकारी श्रेष्ठ, परियोजना प्रमुख वि.क र डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख झालाई ज्ञापन बुझाउने र लालबन्दी नगरपालिका १ स्थित नवलपुरमा पत्रकार सम्मेलन गर्ने, माघ ९ गते मधेश प्रदेश सरकारका मुख्य मन्त्री र वन तथा वातावरण मन्त्रीलाई ज्ञापन पत्र सहित ध्यानाकर्षण गराउने,माघ १३ गते मोटरसाइकल र्याली सहित विरोध प्रदर्शन र डिभिजन वन कार्यालय लालवन्दी सर्लाहीमा धर्ना,माघ १४ गते मसाल जुलुस,माघ १५ गते बागमती नगरपालिका स्थित पुतलिचौकमा दुई घण्टा चक्का जाम तथा जनसभा गर्ने र माघ १६ गतेदेखि अनिश्चितकालिन चक्का जाम तथा सर्लाही जिल्ला बन्द गर्ने माग समेत समावेश गरि ज्ञापन पत्रमा बुझाईएको जिल्ला इन्चार्ज काफ्लेले बताए ।
मधेस प्रदेश,मुख्यमन्त्रीको कार्यालय, जनकपुरधाम,वन तथा वातावरण मन्त्रालय,काठमाण्डौ,वन तथा वातावरण मन्त्रालय,मधेश प्रदेश, डिभिजन वन कार्यालय, लालबन्दी, सर्लाही,सागरनाथ वन विकास परियोजना सर्लाहीलाई बोधार्थ लेखि बुझाईएको ज्ञापन पत्रमा २०६५ देखि २०७३ सम्म सागरनाथ वन विकास परियोजना र सरोकारवाला विच भएका वैठकका निर्णयहरु, गुगल नक्सा,भूमि व्यवस्था ऐन २०७६,वन ऐन २०७६ दफा २ खण्ड क,स्थानिय सरकार संचालन ऐन २०७६ दफा ६२ को क,भू उपयोग ऐन २०७६ दफा ३२,प्रदेश वन ऐन २०७७ दफा ७० र नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय निति २०७२ र २०८० समेत समावेश गरि पेश गरिएको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।
किन तात्यो माओवादी केन्द्र सर्लाही ?
बागमती नगरपालिका लगायत अतिक्रमणमा संलग्न व्यक्ति उपर तत्काल थप अनुसन्धान गरी गैर कानुनी रूपमा हटाएको र निकासी गरेको रूख,बिरुवा र ढुंगा, बालुवा, माटो लगायतका नदीजन्य पदार्थको परिमाण र बिगो (मूल्य) यकिन गरी दण्ड सजाय सहितको मागदाबी लिई प्रचलित वन ऐन २०७६ बमोजिम सम्बन्धित अदालतमा मुद्दा दायर गर्न भन्दै अख्तियारले मन्त्रालयलाई र मन्त्रालयले परियोजना र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीलाई पत्राचार गरेपछि राज्य नियोजित रुपमा बागमती नगरपालिकाका नगर प्रमुख थापा सहितका जनप्रतिनिधि र कर्मचारी माथि लागि परेको भन्दै माओवादी केन्द्र सर्लाही आक्रोसित भएको हो ।बागमती नगरपालिकाका नगर प्रमुख थापा,उप प्रमुख मोक्तान,जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल लगायतको योजनामा सरकारी वन क्षेत्र अतिक्रमण गरी गैर कानुनी रूपमा पोखरी बनाउन भन्दै रु २७ करोड बढीको नदीजन्य पदार्थ उत्खन्न गर्दै बिक्री वितरण गरिएको आरोप लगाईएको छ ।
सागरनाथ वन विकास परियोजना सर्लाहीको एक हजार चार सय बिघा जग्गा अतिक्रमण भएको भन्दै अतिक्रमणमा संलग्न बागमती नगरपालिका लगायत सबैलाई वन मुद्दा चलाउनुपर्ने वन तथा भू संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्ले,उप महानिर्देशक दीपक ज्ञवाली,मधेस प्रदेश वन तथा वातावरण सचिव उद्धव घिमिरे लगायतले निष्कर्ष निकालेका छन् ।उनीहरुको निष्कर्षमा वन क्षेत्रमा तालहरू र अन्य भौतिक संरचना निर्माण गर्दा ठूलो परिमाणमा ढुंगा, गिटी,बालुवा,ग्रेभल र माटो लगायतका वस्तुहरू उत्खन्न गरी गैर कानुनी तवरले निकासी गरेको ठहर गरिएको छ।सो निष्कर्षमा वन अतिक्रमण गर्ने विरुद्ध आवश्यक कारबाही गर्नका लागि वन डिभिजन कार्यालय लालबन्दी सर्लाहीलाई निर्देशन समेत आएपछि माओवादी केन्द्र आक्रोसित भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरी त्यहाँबाट फसाउन सक्ने अवस्था नदेखेपछि नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धनको सरकारले वन सम्बन्धी मुद्धा बनाएर बागमती नगरपालिकाका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेको माओवादी केन्द्र सर्लाहीको ठहर छ।सो क्षेत्रमा २०६२ देखि ०६५ सम्मको अवधिमा सबै रुख परियोजनाका कर्मचारीहरु र काठ तस्करहरुले चोरी तस्करी गरि सखाप पारि सकेका थिए ।“२०६२ देखि २०६५ साल सम्मको अवधिमा परियोजनाको लापर्बाहीले परियोजनाको मुर्तिया क्षेत्रमा करिब दुई हजार पाँच सय हेक्टर वन क्षेत्रको काठ चोरी तस्करी भएको थियो।विभिन्न समयमा सो क्षेत्रमा भएको अतिक्रमण हटाउन सागरनाथ वन विकास परियोजना सर्लाही,डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका साथै जिल्ला प्रशासन कार्यालय सर्लाही रअन्य सरोकारवाला निकायले अतिक्रमण हटाउने प्रयास गरे।तर असफल भएका थिए। जसका कारण त्यहाँ २०६६÷०६७ देखि नै बस्ती बसेको थियो। अहिले सोही विषयलाई लिएर अनावश्यक दुःख दिने नियतले सरकारले बागमतीका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधि र कर्मचारीलाई नियोजित रुपमा फसाउन षड्यन्त्र सुरु गरेको छ।”भन्दै स्थानीय आक्रोसित भएका छन्।सो क्षेत्र खाली गराउन तत्कालीन प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको नेतृत्वमा जिल्ला वन अतिक्रमण नियन्त्रण कार्यदल बनाई अतिक्रमित क्षेत्र खाली गराउन लागि पर्दा स्थानीय र सो कार्यदल विच विवाद भई ५० राउण्ड बढी अश्रुग्याँस समेत प्रहार भएको थियो।परियोजनाको मूर्तिया वन व्यवस्थापन क्षेत्रअन्तर्गत दुई हजार सात सय ५० हेक्टर क्षेत्रफल मध्ये दुई हजार पाँच सय ३४ हेक्टर क्षेत्रफलमा २०६२ र २०६५ सालदेखि खेती बाली लगाउने एवम बस्ती बस्ने काम सुरु भएको भएपनि २०७४ सालमा स्थानीय तहको निर्वाचनबाट आएका बागमतीका नगर प्रमुख थापा र उप प्रमुख मोक्तान सहितका जनप्रतिनिधि र कर्मचारीलाई फसाउन वन क्षेत्र नै नभएको बुढी बागमती नदी उकास क्षेत्रलाई वन क्षेत्र भन्दै राज्य लागेको आफुलाई सो कार्य स्वीकार योग्य नभएकाले तत्काल सो निर्णय राज्यले नसच्याए आफुहरु चरणवद्ध आन्दोलनमा जाने भन्दै आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरिएको माओवादी केन्द्र बागमती नगर कमिटि अध्यक्ष चित्र बहादुर तुम्सिङले बताए ।“सो क्षेत्रमा २०७४ सालबाट बागमती माछा पोखरी बनाउने काम सुरु भएको र करिब १२ वर्ष पहिला नै सकिएको वनलाई २०७४ मा पनि वन मासियो भन्दै अहिले बाहना बाजी गर्ने वनकर्मीहरुले हाल सम्म के हेरेर बसे,यदी वन क्षेत्र थियो भने निर्माण सुरुहुँदै किन रोकिएन?संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार र विभिन्न दातृ निकायहरुले लगानी गरेर निर्माण भएको बागमती माछा पोखरी एकै रातमा निर्माण भएको हो ? कुनै वन क्षेत्र तथा वन मासेर निर्माण भएकाले हो? वातावरणीय प्रभाव मुल्यांकन (आईईई) गर्दा वनका प्रतिनिधिले के हेरेर हस्तक्षर गरे ?यी सबै कुरा हेर्दा अहिलेको गठबन्धन सरकार माओवादी केन्द्रका जनप्रततिनिधिले गरेको विकास निर्माणको काम देखेर अतालिएका कारण अनावश्यक मुद्धा लगाई फसाउने षडयन्त्रमा लागेको छ।जुन स्वीकार्य छैन्।”उनीहरुले बताए। सागरनाथ वन विकास परियोजना सर्लाही अन्र्तगतको मुर्तिया क्षेत्रमा दुई हजार पाँच सय हेक्टर क्षेत्रको वन काठ तस्करले सिध्याएर खाली गराउँदा सो समयमा परियोजना किन मौन थियो ? प्रमुख जिल्ला अधिकारी काफ्लेको नेतृत्वमा बनेको सरोकारवालाहरुको कार्यदलले २०६२/०६५ मा सो क्षेत्रमा रुख नभएकाले रुख लगाउने अभियान चलाएको भएपनि असफल भएको कुरा अहिलेका सरोकारवाला निकायलाई जानकारी नभएको हो की जानकारी भएपनि बाहना गरेका हुन भन्दै स्थानीय सुकुम्बासी,दलित र भूमिहिनहरु आक्रोसित भएका छन्।
घर टहरा बनाएर बसोबास गरिरहेका वास्तविक सुकुम्बासीलाई सुकुम्बासी समस्या समाधान आयोग लगायत राज्यका सरोकारवाला निकायसँगको समन्वयमा पहल गर्ने तथा सरकारको निर्णय अनुसार कार्यान्वयन गर्ने त्यति वेलाको कार्यदलले बताएको भएपनि आफुहरुलाई विस्थापित गरी घरबार विहिन बनाउने पक्षमा सरकार लागेकाले आन्दोलनमा उत्रिन आफुहरु तयार रहेको स्थानीयले बताए । २०६६ सालमा परियोजनाले अतिक्रमण खाली गराउने बाहनामा आफुहरुलाई घरबार विहिन बनाउने काम सुरु गरेपछि आफुहरुले आन्दोलन गरी परियोजनाको कार्यालयमा धर्ना बसेपछि लिखित सहमती गरि आफुहरुलाई सोही ठाउँमा व्यवस्थापन गर्ने सहमती भएको उनीहरुको भनाई छ ।