सुकुम्बासी दलित,भूमिहीन एवम अव्यवस्थित बसोबासीहरुलाई घरबार विहिन नबनाउन मञ्चको अनुरोध

475 Shares

नेपाल सरकारले भरखरै ल्याएको भूमिसम्बन्धी अध्यायदेशलाई लिएर सर्लाहीका भूमिहिनहरु आक्रोसित भएका छन्।२० औँ वर्षदेखि सार्वजनिक जमिनमा बसोबास गरि रहेका भूमिहिनहरु सरकारले ल्याएको अध्यायदेश र संसोधिन ऐनहरुका विरुद्ध आक्रोसित भएका हुन।सरकारले भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थितहरु प्रति दोहोरो चरित्र प्रस्तुत गरेर भूमि सम्बधी अध्यादेश ल्याएको भन्दै राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सर्लाहीले प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,भूमि आयोग सर्लाहीका अध्यक्ष मदन वि.क.र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत सन्तोष कुमार झालाई ज्ञापन पत्र बुझाएको छ ।
मञ्च की अध्यक्ष भवानी घिमिरेले हस्ताक्षर गरि बुझाएको ज्ञापन पत्रमा सुकुम्बासी दलित,भूमिहीन एवम अव्यवस्थित बसोबासीहरुले वर्षौंदेखि आवाद् कमोत् गर्दै आएका जग्गाबाट उठिबास नगर्न÷ नगराउन साथै सागरनाथ वन विकास परियोजना सर्लाहीको क्षेत्रमा बसोबास गरेका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्यामा भूमि आयोग,स्थानीय तह र सरोकार वालासंग छलफल गरि आम सहमति बिना कुनै पनि कार्य नगर्न अनुरोध गरिएको छ ।
“सर्लाहीमा भूमि सम्बन्धी विभिन्न धेरै समस्या छन्।लामो समयदेखि यी समस्या समाधानको लागि पहल भएतापनि हालसम्म कुनै समस्याको उचित समाधान हुन् सकेको छैन।दशकौँ देखि बसेको बस्ति एवम आवादी जग्गाको लालपुर्जा बनेको छैन।यी मध्ये कतिपय जमिन पहिले एउटाको नाममा नापी भएकोे तर अनौपचारिक किनबेच हुँदै विभिन्न व्यक्तिहरुमा भोग हस्तान्तरण हुँदै आएका छन्।यसरी बसोबास गर्नेहरु अधिकांश भूमिहीन दलित र  सुकुम्बासीहरु छन् र उनीहरुले जोतभोग तथा बसोबास गरेपनि पुर्जा बनाउन नपाउँदा विभिन्न समस्याहरु झेल्नु परिरहेको छ ।नेपालको संविधान २०७२ को धारा ३७ मा आवासको हकको उपधारा १ मा“प्रत्येक नागरिकलाई सुरक्षित आवास हुनेछ”भनिएको छ।धारा ४० को उपधारा ५ मा“राज्यले भूमिहीन दलितलाई एक पटक कानुन बमोजिम जमिन उपलब्ध गराउने”ग्यारेण्टी गरिएको छ। उपधारा ६ मा“राज्यले आवास विहीन दलितलाई कानुन बमोजिम बसोबासको लागि व्यवस्था गर्ने”भन्ने पनि ग्यारेण्टी गरिएको छ ।

ayo.jpeg
अहिले सरकारले भूमि समस्या समाधान आयोग गठन गरी भूमिहीन दलित,सुकुमबासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधानको लागि प्रक्रिया अघि बढाएको छ।आयोगले स्थानीय तहहरूसँग समन्वय र सम्झौता गरी जग्गा दर्ता एवम व्यवस्थापनको प्रक्रिया बढाएको छ।स्थानीय तहले जग्गा नाप जाँचको काम गरि रहेका छन्।भूमिसम्बन्धी ऐन २०२१ को दफा ५२ ख ले नेपाल राज्यभर आफ्नो वा आफ्नो परिवारको नाममा कहिँकतै जग्गा जमिन नभएका परिवारलाई जग्गा उपलब्ध गराउने भनेको छ भने,दफा ५२ ग ले २०७६ माघ २८ गते (आठौं संशोधन मार्फत) १० वर्षभन्दा पहिलेदेखि बसोबास तथा आवाद् कमोत गर्दै आएका र घर टहरा बनाई बसोबास गरेकालाई अभिलेखमा वन जनिएको भएतापनि जग्गा दर्ता गरिदिन सकिने व्यवस्था गरेको छ।यसरी सरकारले आयोग बनाएर भूमिहीन दलित,सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुको लागि जग्गा व्यवस्थापन एवम दर्ताको प्रक्रिया अघि बढाइरहेको अवस्थामै सरकारले सागरनाथ वन विकास परियोजना सर्लाही लगायतका राष्ट्रिय वन क्षेत्रको जग्गा अतिक्रमण नियन्त्रणको बिषय उठाएर बस्तिमा त्रास फैलाउने र यसमा विभिन्न पक्षबीच अशान्तिको वातावरण सिर्जना भएको अवस्था छ।सरकारले विभिन्न निकायमा गरेको परिपत्रले लामो समयदेखि बसोबास र जोतखन गर्दै आएका भूमिहीन दलित,सुकुमबासी र अव्यवस्थित बसोबासीहरूमा भय सिर्जना भएको छ सर्लाहीमा रहेका भूमिहीन दलित,सुकुम्बासीहरु र  अव्यवस्थित बसोबासीहरुका समस्या समाधानको लागि दबाब सिर्जना गर्न,सहयोग र सहकार्य गर्नको लागि हामी सबै सरोकारवाला निकायको उचित ध्यानकर्षण गराउँदै ज्ञापन पत्र पेश गर्दछौं।”प्रमुख जिल्ला अधिकारी श्रेष्ठ,आयोग सर्लाहीका अध्यक्ष वि.क.र डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झालाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

cdo.jpeg
भूमिहीन दलित,सुकुम्बासी एवम अव्यवस्थित बसोवासीले वर्षौदेखि आवाद कमोत गर्दै आएका जग्गामा नै स्थायी बसोवास गराउन पाउनु पर्ने मञ्चले माग गरेको छ। पछिल्लो समय सरकारले चालेको कदमबाट सर्लाहीको बागमती नगरपालिका लगायत सागरनाथ वन विकास परियोजना सर्लाही आसपासका हजारौँ भूमिहीन दलित, सुकुम्बासी एवम अव्यवस्थित बसोवासीको उठिवास लाग्ने भन्दै राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल सर्लाही र भूमिहीन दलित,सुकुम्बासी एवम अव्यवस्थित बसोवासीहरु चिन्तित बनेका छन् । 
विभिन्न क्षेत्रमा लामो समयदेखि बसोवास र जोतखन गर्दै आएको स्थानलाई अतिक्रमणको नाम दिएर खाली गर्न दिएको आदेशले भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरु फेरी संकटमा परेको भूमि अधिकार मञ्चले निष्कर्ष निकालेको मञ्चकी अध्यक्ष घिमिरेले बताईन्।केही समय पहिला प्रधानमन्त्री तथा मन्त्री परिषद लगायत विभिन्न विभागका मुख्य सचिव तथा सचिवस्तरीय बैठकबाट जिल्लाको सागरनाथ वन विकास परियोजना क्षेत्रका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई हटाउन निर्देशन दिदैँ बागमती नगरपालिकालाई समेत निर्णय कार्यान्वयनको लागि पत्र काटेको प्रति मञ्चले आपती जनाएको छ ।
“एकतर्फ सरकारले भूमि सम्बन्धी अध्यादेश ल्याउने र भूमि समस्या समाधान आयोग गठन गरेर भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको हितमा काम गरेको जस्तो गर्ने र अर्कोतर्फ भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुका सवालमा जिल्लामा पत्राचार गरेर वन मासेको भन्दै अनुसन्धान अघि बढाउने कुराले त्रास सिर्जना भएको छ।”मञ्चकी अध्यक्ष घिमिरेले उल्लेख गरिन् ।

dfo.jpeg
मञ्चले सरकारले गठन गरेको भूमि समस्या सामाधान आयोगले छिटो काम गर्ने वातावरण बनाइ भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको जग्गा दर्ता एवम जग्गा व्यवस्थापनको काम यथाशक्य अघि बढाउन र स्थानीय तहले भूमिहीन,दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको लगत संकलन,प्रमाणीकरण र जग्गा नापजाँचको कार्य यथाशक्य अघि बढाउन मञ्चले माग गरेको छ ।
राष्ट्रपतिले जारी गरेको भूमि सम्बन्धी अध्यादेशले भूमि सम्बन्धी आठौँ संशोधन ऐन २०७६ को भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई जग्गा उपलब्ध गराउने दफा आकर्षित हुने प्रावधानमा संशोधन गरेको भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले बताए।उनका अनुसार भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुलाई जग्गा वितरण गर्न कानुनी रूपमा अध्यादेशले बाटो खोलेको छ ।
कतिपयले सो अध्यादेशका कारण सरकारी सम्पत्ति दुरुपयोग हुनसक्ने चिन्ता व्यक्त गरिरहँदा विज्ञहरूले वास्तविक भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुले लामो समयदेखि समस्या खेपिरहेका र कानुनी प्रबन्ध गरेर तीनका पीडा सम्बोधन गरिनुपर्ने उनले बताए । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधवार जारी गरेको उक्त अध्यादेशले “भूमिसम्बन्धी कतिपय विद्यमान समस्या हल गर्ने”प्रधानमन्त्री केपी ओलीले बताएका थिए।
भूमि अध्यादेशमा प्रावधान के छन् ?
उक्त अध्यादेशले भूमिसम्बन्धी ऐन २०२१ मा वि.संं २०७६ मा आठौँ संशोधन गरेर व्यवस्था गरिएको भूमिहीन दलित,सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको व्यवस्थापन तथा जग्गा उपलब्ध गराउने विषय थपेको छ। राष्ट्रपतिद्वारा जारी अध्यादेशले “सार्वजनिक जग्गा,नदी,खोला वा नहर किनाराका जग्गा,जोखिमयुक्त स्थानमा बसोवास गरिएका जग्गा, राष्ट्रिय निकुञ्जको जग्गा,मध्यवर्ती क्षेत्रको जग्गा,हाल रुख बिरुवाले ढाकिएको वनको जग्गा र सडक सीमा भित्रका जग्गा”लाई भूमिहीनहरुलाई उपलब्ध नगराइने जग्गाका रूपमा उल्लेख गरेको छ। तर त्यसपछि अध्यादेशमा रहेको वाक्यांशले स्थानीय तहको किटानी निर्णयसहित लेखी आएमा कतिपय त्यस्ता अरूलाई दिन नपाइने भनिएको जग्गा पनि भूमिहीनलाई वितरण गर्न सकिने व्यवस्था गर्ने देखिन्छ। त्यसमा भनिएको छ,“तर सुरु नापी हुँदाका बखत क्षेत्रीय किताब वा लागतमा गौचर, हाट, हाटघाट र बजार उल्लेख भएका जग्गामा दफा ५२ (ग) मा तोकेको समया वधि वि.सं. २०६६ माघ २८ गते भन्दा अगावै देखि घर टहरा बनाइ आबाद कमोद गर्दै आएका रहेछन् र ती जग्गाहरू सुरु नापी हुँदाका बखत क्षेत्रीय किताबको विरह महलमा वा लागतमा उल्लेख भएको विरह बमोजिम वा सार्वजनिक उपयोगमा छैनन् भन्ने व्यवहोरा जग्गा रहेको स्थानीय तहको किटानी निर्णयसहित लेखी आएमा त्यस्तो जग्गा ५२ (क),५२ (ख) र ५२(ग) बमोजिम उपलब्ध गराउन बाधा पुग्ने छैन।”
भूमिसम्बन्धी ऐनको दफा ५२ को (क) ले भूमिहीन दलितलाई जग्गा उपलब्ध गराउने व्यवस्था गरेको छ।दफा ५२ (ख) मा एकपटकका लागि भूमिहीन सुकुम्बासीलाई जग्गा दिने र ५२ (ग) मा अव्यवस्थित बसोबासीको व्यवस्थापनबारे चर्चा गरिएको छ।बीबीसीसँग कुरा गर्दै भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले देशभित्रै भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले भूस्वामित्वको लागि लामो समयदेखि संघर्ष गर्नुपरेको उल्लेख गर्दै तिनका समस्या सम्बोधनका लागि अध्यादेश ल्याइएको बताईएको छ ।
“अहिले बस्ती हटाएर अन्यत्र लैजाने स्थिति पनि छैन।बसेको बस्तीलाई हटाउन सक्ने स्थिति पनि छैन। अन्यत्र दिन सक्ने पनि स्थिति छैन किनभने ठूला संरचनाहरू बनेका छन् र पचासौँ वर्षदेखि मानिसहरू बसोबास गरि रहेका छन्।त्यही भएर बस्ती,आबादी वा सहरमा परिणत भएका स्थानहरू सार्वजनिक भएपनि वन भएपनि र गौचरण भनिएको भएपनि उपलब्ध गराउने भनिएको छ।”
अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने सम्बन्धी ऐनको व्यवस्थालाई परिमार्जन गर्दै अध्यादेशले“अभिलेखमा वन क्षेत्र जानिएको” भन्ने मूल कानुनमा रहेको व्यवस्थाको सट्टा“अभिलेखमा वन क्षेत्र वा मध्यवर्ती क्षेत्र जानिएको”जग्गा उनीहरूलाई उपलब्ध गराउन सकिने प्रबन्ध नयाँ व्यवस्था गरेको छ।यसअघि उक्त कानुनमा ऐलानी वा अन्य सरकारी जग्गा वा अभिलेखमा वन जानिएको भएपनि आबादीमा परिणत भएको जग्गा एकपटकका लागि तोकिएको क्षेत्रफलको हदमा अघि नबढ्ने गरी उपलब्ध गराउन सकिने उल्लेख गरिएको थियो।
 अध्यादेशमा नदी किनार,ताल तलैयाको किनार,राष्ट्रिय निकुञ्ज,वन र सडकको मापदण्ड भित्र वा अन्य जोखियुक्त स्थानमा बसोबास गरिरहेका भूमिहीन दलित वा भूमिहीन सुकुम्बासीहरुलाई अन्यत्रै बस्ने व्यवस्था मिलाउन सकिने उल्लेख गरिएको छ,भने अहिले चितवनको बाँदरझुलाबाहेक अन्यत्र त्यस्तो समस्या नरहेको बताईएको छ ।“संरक्षित क्षेत्र जुन भनिन्छ,त्यो भनेको राष्ट्रिय निकुञ्ज भन्दा बाहिर पट्टीको मध्यवर्ती क्षेत्रमा नम्बरी र ऐलानी जग्गाहरू पनि छन्।त्यहाँ सरकार वा वनले हटाउने नीति पनि छैन।संवेदनशील क्षेत्र भएर हामीले रेखाङ्कन गरेका हौँ।त्यो क्षेत्रमा रहेका सार्वजनिक ऐलानीका जग्गाहरू दिने भनेको हो।”भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बताए।उनका अनुसार केही दिन पहिला मात्रै सर्वोच्च अदालतले संरक्षित क्षेत्र भित्र जलविद्युत परियोजना र होटल जस्ता पूर्वाधार निर्माण गर्न दिने एउटा कानुनलाई खारेज गरिदिएको थियो।
नेपालका विभिन्न ११ वटा संरक्षित क्षेत्रका चार हजार ३९ दशमलव १३ हेक्टर जमिन अतिक्रमणमा परेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वि. सं.२०७९/२०८० को प्रतिवेदनमा उल्लेख गरिएको छ।
नेपालमा कति भूमिहीन छन् ?
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गएको असोजमा गठन गरेको भूमि समस्या समाधान आयोगले ७१ जिल्लामा अध्यक्ष नियुक्त गरेर थप कामहरू अघि बढाउन लागिरहँदा यो अध्यादेश आएको र अध्यादेशका प्रावधानहरूले भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण गर्न सहयोग पु¥याउने आयोगका उपाध्यक्ष एवम प्रवक्ता सनत कुमार कार्कीले बताए ।उनका अनुसारमा विगतमा गठन भएर खारेज भएका आयोगले संकलन गरेका निवेदनहरू सम्बन्धित स्थानीय तहबाट आवश्यक जाँच र सिफारिस गराएर जग्गा वितरण गर्नसक्ने गरी आयोगले विभिन्न कार्यविधिहरू जारी गरेको छ।
हालसम्म लालपुर्जाका लागि करिब ११ लाख निवेदनहरू प्राप्त भएका र जसमध्ये एक लाख ६० हजार भूमिहीन दलित रहेका आयोगले जनाएको छ।यसबाहेक भूमिहीन सुकम्बासी भन्दै लालपुर्जा माग गर्नेको संख्या करिब एक लाख १८ हजार र अव्यवस्थित बसोबासीहरुको संख्या करिब साँढे आठ  लाख रहेको आयोगले जनाएको छ।भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई पहिलो प्राथमिकता दिएर जग्गा उपलब्ध गराउने आयोगको उद्देश्य रहेको छ।भूमि सम्बन्धी कानुनले अव्यवस्थित बसोबासीहरुका रूपमा सरकारी ऐलानी,पर्ती वा सरकारी अभिलेखमा वन जनिएको भएपनि लामो समयदेखि त्यस क्षेत्रमा घर टहरा बनाएर बसिरहेका व्यक्ति र तिनका परिवारलाई जनाउने उल्लेख गरेको छ।उनीहरूलाई जमिन उपलब्ध गराउँदा आर्थिक अवस्था,जग्गाको प्रकृति क्षेत्रफल, अन्यत्र जग्गा भए नभएको जस्ता आधारमा वर्गीकरण गरी निश्चित शुल्क लिएर जमिन उपलब्ध गराउनुपर्ने ऐनमा व्यवस्था छ।भूमिहीन र सुकुम्बासीहरुको हकमा जग्गा प्राप्त गर्दा कुनै राजश्व तिर्नु नपर्ने तर अवयवस्थित बसोबासीहरुले निश्चित एक प्रतिशत राजश्व तिर्नुपर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता कार्कीले बताए ।जिल्लास्थित आयोगहरूले पूर्णता पाए लगत्तै फेरी आवेदन आव्हान गर्ने भएकाले निवेदन दिनेहरूको संख्या बढ्नसक्ने बुझिएको छ। भूमिहीन वा अव्यवस्थित बसोबासीहरुको पहिचान गर्ने काम सम्बन्धित वडाले गर्ने र तीन पुस्ते विवरण अध्ययन गरिने आयोगले जनाएको छ।तर कतिपयले राजनीतिक आधारमा नियुक्त भएको आयोग र त्यसको जिल्लास्थित संयन्त्र र दलगत प्रतिनिधि सम्मिलित स्थानीय वडाहरूको सिफारिसलाई मात्र ध्यान दिएर जग्गा वितरण गर्दा दुरुपयोग हुनसक्ने आशंका गर्ने गरेका छन्।
भूमिहीन र सुकुम्बासीहरुको पहिचान,वर्गीकरण र जग्गा वितरणको अनुगमनलाई मजबुत पारेर मात्र यस्तो प्रक्रिया अघि बढाउनुपर्ने भूमिविद्धहरुको सुझाब छ। सन् २०१९ मा सार्वजनिक गरिएको एउटा प्रतिवेदनमा एमनेष्टी इन्टरनेस्नल सहित विभिन्न तीन वटा संस्थाहरुले भूमि सुधार सम्बन्धी बृहत् नीतिको तर्जुमा गर्न र त्यस क्रममा दलित र थारु लगायतका समुदायको अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।तर सरकार नियोजित रुपमा  सर्लाहीको बागमती नगरपालिका र त्यहाँ बसोबास गरि रहेका सुकुम्बासी दलित,भूमिहिनहरु र अव्यवस्थित बसोबासीहरु माथि गलत तरिकाले लागि परेको भन्दै उनीहरु आक्रोसित भएका हुन ।

सम्बन्धित समाचार