सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको ईन्दु शंकर चिनी उद्योगको ४७ जना उखु उत्पादक किसानहरुलाई सम्मान गरेको छ। उन्नत प्रविधि र उन्नत जातको उखु खेतीमा सफलता हासिल गरेका ४७ जना उखु उत्पादक किसानहरूलाई सम्मान गरिएको उद्योगका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिए ।
आगामी दिनमा उद्योगले थप प्रविधि तथा सहुलियत प्रदान गर्ने उद्योगका प्रशासकीय प्रबन्धक ठाकुर प्रसाद नेपालले बताए।उनले उन्नत प्रविधि र उन्नत जातको उखु खेतीमा सफलता हासिल गरेर सम्मानीत भएका उखु उत्पादक किसानहरुको मेहनतलाई प्रशंसा गर्दै उद्योगले उखु किसानहरूको भुक्तानी नियमित रूपमा गर्दै उन्नत जातको बिउ बिजन तथा अवलोकन भ्रमणको व्यवस्था गरेकाले उखु उत्पादनमा वृद्धि भएको बताए ।
उखु उत्पादक किसानहरुलाई सम्मान कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल),उप प्रमुख हरिमाया घलान,उद्योगका अध्यक्ष राजेश केडिया,कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका प्रमुख कमल देव प्रसाद कुशवाहा लगायतको विशेष उपस्थिति रहेको थियो ।
उन्नत जात तथा प्रविधिको प्रयोगले उखु उत्पादनमा उल्लेखनीय वृद्धि भएको दाबी गर्दै उखु खेती प्रवद्र्धनका लागि उद्योगले अपनाएका प्रविधिहरू तथा उद्योगको भूमिकाका बारे समेत किसानहरुलाई जानकारी गराइएको उद्योगले जनाएको छ ।उद्योगले आगामी दिनमा अन्तरक्रिया तथा अवलोकन भ्रमणजस्ता कार्यक्रमलाई नियमित उखुलाई नगदे बालिको रूपमा लिए पनि अन्यत्र अझै उधारो बालीको रूपमा लिने गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख बुढाथोकीले बताए ।
उनले किसानका लागि कृषियान्त्रिक प्रणाली र उन्नत प्रविधिमा जोड दिँदै कृषि सिँचाइ मिटर बिलिङ रकममा नगरपालिकाले अनुदानको व्यवस्था गरेको र दुई वर्षभित्र नगरका सबै क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने समेत बताए ।खेतीलाई सानो ठूलो भन्ने मेहनत,लगाव र उन्नत जातको बिउ बिजन र प्रविधिको प्रयोग गरे उत्पादन वृद्धि गर्न सकिने हरिवन नगरपालिकाकी उप प्रमुख घलानले बताएन् ।
उखु खेतीलाई राष्ट्रिय बालीको रूपमा राख्न पहल गरिरहेको बताउँदै उखु किसानहरूको प्रमुख समस्या भुक्तानी रहेको भएपनि ईन्दु शंकर चिनी उद्योगले नियमित भुक्तानी गर्दै आएको कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीका प्रमुख कुशवाहाले बताए।उनले उखु उत्पादक किसानहरुले अब उन्नत जातको बिउ,प्रविधि र यान्त्रिकीकरणको प्रयोगमा जोड दिनुपर्ने सुझाव दिए ।आफू उखु उत्पादक किसान नभए पनि उखु उत्पादक किसानहरुको दुःख,पीडा र समस्या बुझ्ने उद्योगपति रहेको उद्योगका अध्यक्ष केडियाले बताए।उनले उखु उत्पादक किसानहरुको उखुको भुक्तानी उद्योगले उखु लिएको एक हप्ताभित्रै गर्ने गरेको र हालसम्म रु एक अर्ब ३६ लाख भुक्तानी गरिसकेको जानकारी दिए।चालु सिजनको हाल सम्म उद्योगले १९ लाख ७१ हजार सात सय क्विन्टल उखु क्रसिङ गरि सकेको जानकारी दिँदै उखु उत्पादक किसानहरुसँगको सहकार्यबाट धेरै सिक्न पाएको उद्योगका अध्यक्ष केडियाले बताए ।त्यस्तै,ईन्दु शंकर चिनी उद्योगले समय समयमा अवलोकन भ्रमणको व्यावस्था गर्नुका साथै उन्नत जातको बिउ,बिजन तथा उन्नत प्रविधिको प्रयोग र कृषियान्त्रिकरणलाई प्रोत्साहन गरिएको सम्मानीत भएका किसानहरुले बताएका छन् ।