राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सर्लाहीमा तीन दिन विभिन्न कार्यक्रमहरु हुने

439 Shares

सर्लाहीमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तीन दिन विभिन्न कार्यक्रम गरिने भएको छ।हरेक वर्ष फागुन ७ गते मनाईने प्रजातनत्र दिवश २०८१ को अवसरमा फागुन ६,७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा सुरक्षा निकायका प्रमुख,नगर प्रमुख,पालिका अध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र कार्यालय प्रमुखहरु लगायतको उपस्थितिमा बसेको बैठकले तीन दिन अर्थात फागुन ६,७ र ८ गते विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहको अध्यक्षतामा जिल्लास्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति २०८१ गठन गर्ने निर्णय समेत गरेको छ ।उक्त समितिको आयोजनामा फागुन ६ गते बिहान प्रादेशिक अस्पताल मलंगवामा उपचाररत् बिरामीलाई फलफूल वितरण गर्ने,राष्ट्रिय प्रजातन्त्र दिवसको मुख्य दिन अर्थात फागुन ७ गते सर्लाही सदरमुकाम मलंगवामा प्रभात फेरि, जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा झण्डोत्तोलन,जिल्ला प्रशासन कार्यालय परिसरमा रक्तदान र मलंगवाको तीन बिघे मैदानमा जनप्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीहरुबिच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीका सूचना अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार फागुन ६,७ र ८ गते जिल्लास्थित सबै सरकारी कार्यालय,सार्वजनिक एवम सामुदायिक संघ/संस्था, शैक्षिक प्रतिष्ठान तथा आम नागरिक समेतलाई साँझ दीप प्रज्वलन गर्न आव्हान गर्ने बैठकले निर्णय समेत गरेको छ ।राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्लाका सबै स्थानीय तहहरुका साथै विभिन्न निकायमा राष्ट्रिय झण्डा फहराउने एवम अन्य रचानात्मक कार्यक्रम आयोजना गर्ने समितिले निर्णय  गरेको छ ।
२००७ साल फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य भएको थियो र प्रजातान्त्रिक प्रणालीको सुरुवात भएको सम्झनामा हरेक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवशको रुपमा मनाउने गरिएको छ ।करिब एक सय चार वर्षसम्म निरंकुश राणा शासनले देशमा राजनीतिक, सामाजिक र आर्थिक विकासलाई रोकिराखेको थियो।राणा शासनविरुद्ध विभिन्न आन्दोलनहरू भए।प्रजातन्त्र आउनुमा  नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र आन्दोलन र प्रजा परिषद् जस्ता संगठनहरूको भूमिका महत्वपुर्ण रहेको थियो ।
फागुन ७ गते राणा शासनको अन्त्य भई श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवकोे नेतृत्वमा प्रजातान्त्रिक प्रणालीको घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवश मनाइदै आएको छ। यो दिनले स्वतन्त्रता,समानता र जनताद्वारा निर्वाचित सरकारको महत्वलाई स्मरण गराउँछ।
 तर त्यसपछि अहिले संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल घोषणा भई सकेको पनि करिब एक दशक बित्नै लागेको भएपनि नागरिकहरुको जीवनस्तरमा कुनै सुधार हुन नसकेको नागरिक अगुवाहरुको गुनासो छ ।विभिन्न समयमा राज्यको तत्कालीन व्यावस्था परिवर्तनका लागि विभिन्न किसिमका जन आन्दोलनहरु भएपनि ती आन्दोलनले नेतालाई सडकबाट महलमा पुर्याए तर सडकमा रहेका नागरिकहरु अहिले पनि सडक मै रहेको नागरिक अगुवाहरुको गुनासो छ ।

सम्बन्धित समाचार