सर्लाहीको हरिवन नगरपालिका ४ गेल्हाका एक युवकले दुनाटपरी उद्योगबाट मासिक करिब ९० हजार आम्दानी गर्दै आएका छन्।हरिवन नगरपालिका ४ गेल्हाका २० वर्षीय युवक जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर मासिक करिब रु ९० हजारसम्म आम्दानी गर्दै आएको बताए । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा पहिचान बनाएका महत्तोले आधुनिक उपकरणबाट दुनाटपरी बनाउने गरेका हुन्।
“करिब एक वर्ष पहिला हरिवन नगरपालिकाले आयोजना गरेको लघु उद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेर व्यवसाय सुरु गरेको हुँ।अहिले मासिक करिब रु ९० हजार आम्दानी हुँदै आएको छ ।आगामी दिनमा उत्पादन दुई गुणाले बढाउने गरी काम सुरु गरेको छु ।”उनले भने ।
चुरेका वनमा खेर गइरहेको साल र भोर्लाको पातबाट दुनाटपरी बनाउने आफ्नो उद्योगमा २० जना युवालाई रोजगारी पनि दिएका महत्तोले बताए।हरिवन नगरपालिका १० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत उनी १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा रहेका भएपनि आफुलाई हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापाको सहयोगमा नेपाल मैकेही गर्नु पर्छ भन्ने लागेर उद्योग सुरु गरेको उनले बताए ।
“म कक्ष १२ पास गरेर विदेश जाने अन्तिम तयारीमा थिए,तर वडाध्यक्ष थापासँग सहयोग माग्न जाँदा उनले यही केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ।नगरले आयोजना गरेको लघु उद्यम सम्बन्धी सेमिनारमा सहभागी भएपछि उद्यमी बन्ने रहर जागेको हो।रहर त जाग्यो।तर,लगानी नहुँदा निकै दुःख पाएँ।उनै वडा अध्यक्ष थापाले सहयोग गरेपछि अहिले उद्यम गरिरहेको छु।”महत्तोले बताए ।बजारमा दुनाटपरीको माग धेरै भएकाले रु तीन लाख ६० हजार पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताए।यसअघि रु दुई लाख ४० हजारमा एक थान उपकरण जडान गरेको बताउँदै त्यसबाट विभिन्न पाँच प्रकारका दैनिक पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको समेत बताए ।अब दैनिक १० हजार बढी उत्पादन बजार पु¥याउने लक्ष्य रहेको महत्तोले बताए ।
नयाँ उपकरण जडानपछि महिनामा तीन लाखसम्मको दुनाटपरी उत्पादन गर्न सकिने उनको दाबी छ। यसबाट मजदुर,उत्पादन र बजारीकरण समेतको खर्च कटाएर दैनिक रु दुई हजार पाँच सयदेखि रु तीन हजारसम्म मुनाफा हुने उनले सुनाए।रूखको पातबाट बन्ने भएकाले दुनाटपरी वातावरण मैत्री हुने भएकाले प्लास्टिकजन्य सामानभन्दा उपभोक्ताहरुले समेत धेरै रुचाउने गरेका उनको अनुभव छ।“स्थानीयस्तरमा उत्पादन भएका र वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न उनले आग्रह गरे।यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले लघु उद्यममा युवालाई जोड्न आवश्यक रहेको समेत बताए।”
“पहिला नपत्याएका बैंकहरूले अहिले ऋण लिन बोलाइरहेका छन्।सुरुमा उद्यम सुरु गर्छुभन्दा पुँजी थिएन,ऋण माग्दा बैंक तथा वित्तीय संघ÷संस्थाहरूले दिएनन्।अहिले फोन गरेर ऋण लैजानुस् ।” भनिरहेका महतोले बताए।हरिवन नगरपालिका ११ स्थित रहेको सगुन बचत तथा ऋण सहकारी लि.बाट रु एक लाख ऋण लिएर सुरु गरेको उद्योग सञ्चालनमा फेरि त्यसबेलाको जस्तो संकट भोग्नु परेको छैन्।”महत्तोले बताए ।भजुँ बाबा दुनाटपरी उद्योगबाट उत्पादन भएका सामाग्री जिल्लाको हरिवन,नवलपुर,बागमती, लालबन्दी,बरहथवा,बयलबास र मलंगवा लगायतका बजारसम्म पुग्ने गरेको र उपभोक्ताको मागअनुसार सालको पत्ता,भोज पत्ता र दुनाटपरीलगायत सामान बजारमा उपलब्ध गराउने गरेको उनले बताए ।
स्थानीय साधन स्रोतमा जोडेर युवालाई स्वरोजगार बनाए मात्र मुलुक समृद्धिको यात्रामा जाने हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताए ।उनले जितेन्द्र जस्ता लगानी नभएका र उद्यमी बन्ने योजना भएका युवाहरुलाई नगरपालिकाले रणनीति बनाएर प्रोत्साहन गरिरहेको समेत बताए।