सर्लाहीको पर्सा गाउँपालिका ६ मङराहा पोखरी स्थित हुलाकी सडक खण्डबाट प्रहरीले ठुलो मात्रामा लागु औषध सहित दुई युवालाई नियन्त्रणमा लिएको छ ।पर्सा गाउँपालिका ६ मङराहा पोखरी स्थित हुलाकी सडक खण्डमा चेकजाँचमा खटिएको प्रहरी टोलीले ना.४२ प ४२७० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा लागु औषध वान्रेक्स एक सय ७० बोतल र आरजेई सिन लेखिएको एक सय ९४ बोतल लागुओषध बरामद् भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका निमित्त प्रहरी प्रवक्ता एवम प्रहरी निरिक्षक बालिस्टर सिंहले जानकारी दिए ।
उनका अनुसार तीन सय ६४ बोतल लागु औषध सहित सर्लाही कै लालबन्दी नगरपालिका ११ का अन्दाजी वर्ष २६ का मुकेश यादव र सोही मोटरसाईकलमा पछाडी सवार सोही ठाउंका अन्दाजी वर्ष १९ को संजिव महतोलाई नियन्त्रणमा लिएको हो ।मोटरसाईकल नियन्त्रणमा लिइएका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ ।