पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र रौतहटलाई जोड्ने बागमती खोलाको पुल मर्मत कार्य सम्पन्न गरी पुलबाटै सवारी साधन संचालन गर्न थालिएको छ ।पुलको “ब्यारिङ प्याडेस्टल”मा क्षति पुुगी केही भागमा ढलान नै उप्किएपछि तत्कालका लागि डाइभर्सनबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको भएपनि अहिले मर्मत सम्भारको काम सकिएकाले पुलबाटै सवारी आवागमनको व्यावस्था मिलाईएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमारलाल कर्णले जानकारी दिए ।
उनका अनुसार क्षति पुुगेको भागमा मर्मतको काम सकेर पुलबाट नियमित सवारी साधन संचालन हुन थालेको हो।पुलको मर्मत कार्य गर्न भन्दै माघ २७ गतेदेखि पुलबाट सवारी आवागमनमा रोक लगाइ डाइभर्सनबाट बागमती खोला वारपार गर्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
पुल संचालन भएसँगै अब डाइभर्सन भत्काएर त्यहाँ हालिएका ह्यूम पाइप निकालिने भएको छ।पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको “कङ्क्रिट” हालेर ढलान गरिएकाले तत्कालै सवारी साधन सञ्चालन गर्न मिल्ने भएको प्राविधिकले बताएका छन् ।सर्लाहीमा ५५ वर्षअघि नै निर्माण गरिएका बागमतीसहित अन्य खोलाका करिब १८ वटा पुल जिर्ण बनेका छन्।पुलहरुमा वर्षेनि खाल्डाखुल्डी परेको ठाउँमा टाल्टुल पारेर सवारी साधन सञ्चालन गरिँदै आएको छ ।
भने तीनै पुलहरुको मर्मत सम्भारको नाममा सडक डिभिजन कार्यालयका प्रमुख लगायत प्राविधिहरुले आर्थिक चलखेल समेत गर्ने गरेका गुनासाहरु आउने गरेका छन् ।पुल मर्मत सम्भार कार्यमा मनपरि ढंगले आर्थिक हिनामिना गर्ने कार्यमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख कर्ण सहित प्राविधिहरुलागि परेका स्थानीय जानकारहरु बताउँछन्।उनीहरुका अनुसार पुलको मर्मतमा समेत रु ६० लाखभन्दा बढी खर्च लाग्ने सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटले स्टमेट गरेपछि आर्थिक अनियमितता हुने स्थानीले शंका गरेका हुन।जहाँ डाइभर्सन बनाउन मात्रै रु ३० लाखभन्दा बढी खर्च देखाइएको छ।केही स्थानमा ह्युम पाइप राखेर बागमती नदीकै बालुवा प्रयोग गर्दै बनाएको डाइभर्सनमा त्यति धेरै खर्च कसरी भयो भन्नेमा प्राविधिकहरू आफै छक्क परेको छन् ।