गोलभेँडाले मुल्य नपाएपछि बारीमै कुहिन थाल्यो

280 Shares

सर्लाहीका किसानहरुले उत्पादन गरेको गोलभेँडाले उचित मुल्य नपाएपछि बारीमै कुहिएर नष्ट हुन थालेको छ।गोलभेँडाले उचित मुल्य नपाउँदा किसानहरुले गोलभेँडा टिप्नै छाडेका छन्। गोलभेँडा प्रतिकेजी रु चारमा बेच्नुपर्ने अवस्था आएपछि किसानहरु चिन्तीत भएका छन् ।हरिवन नगरपालिका २ मा करिब चार बिघामा गोलभेँडा खेती गरेका पशुपति शर्माले अहिलेको बजार मुल्य अनुसार गोलभेँडा टिपेर कुनै काम नभएको भन्दै बारीमै छाडेको गुनासो गरे।उनका अनुसार प्रति कठ्ठा एक सिजनको करिब रु १५ हजार खर्च हुने तर अहिलेको बजार मुल्य रुचारदेखि पाँच रुपैँयामा बिक्रि हुँदा प्रति कठ्ठा रु चार देखि पाँच हजार हुन्छ । खर्च रु १५ हजार प्रति कठ्ठा हुने तर बिक्रि करिब रु चारदेखि पाँच हजारको हुने हुँदा करिब रु १० हजार घाटा बेर्होनु पर्ने बाध्यता भएपछि किसानहरु निकै मारमा परेका शर्माले बताए ।
उनका अनुसार गोलभेँडा उत्पादन गर्न प्रति कठ्ठा बिउ करिब रु तीन हजार,मल करिब रु एक हजार,जग्गा भाडा सरदर रु चार हजार,जोताई करिब रु एक हजार,भिटामिन र औषधी करिब रु दुई हजार,टिपाई,लोडिङ तथा प्याकिङ गर्दा करिब रु दुई हजार र बजार सम्म पुर्याउँदा भाडा करिब रु दुई हजार गरी करिब रु १५ हजार खर्च गरेपछि गोलभेँडाको मुल्य रु चारदेखि पाँच हजार प्रति कठ्ठा हुन्छ । गोलभेँडा राम्रो फल्दा प्रति कठ्ठा सात देखि १० क्विन्टल फल्ने भएपनि बजारमा मुल्य नपाउँदा आफुहरु १० हजार घाटा बेहोरेर बजारमा गोलभेँडा पुर्याउन सक्ने अवस्थामा नरहेको उनले बताए । गोलभेँडा उत्पादन हुने मुख्य याममै उचित मुल्य नपाउँदा मर्कामा परेको जिल्लाका गोलभेँडा उत्पादक किसानहरुको गुनासो छ।“चाँडो फलाउनेले त राम्रै मुल्य पाए तर हामी अन्तिम तिर फलाउनेलाई गोलभेँडा बेच्नै मुस्किल परिरहेको छ”हरिवन १,तित्रीगाँछीका विष्णु बम्जनले बताए ।“गोलभेँडा पाकेर राताम्मे भएपनि बजार लैजाँदा भाऊ नै छैन्।मुल्य नै नपाएपछि आफूले दुुई कामा उत्पादन गरेको गोलभेँडा टिप्नै छाडेको छु।”उनले बताए ।
“हुस्सु हटेर घाम चर्किन थालेपछि गोलभेँडा एकैचोटी पाक्छ,धेरै पाकेर बजार लगेको गोलभेँडा बिक्री नै हुँदैन,चार÷पाँच रुपैँयाँमा बेच्नुभन्दा गोलभेँडा बारीमा बाख्रा छोडेर चराउने गरेको छु ।”उनले बताए ।सर्लाही २ अत्रौलीकी रञ्जुदेवि महतोले छ महिनाका लागि प्रतिका रु चार हजारमा जग्गा भाडामा लिएर गोलभेँडा खेती गरेकी भएपनि गोलभेँडाको मुल्य नपाउँदा जग्गा भाडा कसरी तिर्ने भन्ने चिन्ताले सताएको बताईन् ।
व्यावसायिक रुपमा गोलभेँडा खेती हुने सर्लाहीको उत्तरी क्षेत्रका किसानहरुले तीनघरे,नवलपुर र लालबन्दी बजारमा ल्याएर गोलभेँडा बिक्री गर्ने गरेका कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष तोरण बहादुर मगरले बताए ।उनले गोलभेँडा धेरै उत्पादन हुने याममा वर्षेनि गोलभेँडाको मुल्यमा व्यापक गिरावट आउने गरेको साथै अहिले गोलभेँडा व्यापक उत्पादन भएकाले मुल्य घटेको बताए ।

सम्बन्धित समाचार