बागमती सिँचाईका दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित

129 Shares

सर्लाहीको बागमती स्थित रहेको बागमती सिँचाई आयोजना कर्मैयामा कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका छन्।सर्लाही र रौतहटमा सिँचाई सुविधा पु¥याउँदै आएको आयोजनाका दुई सय ६४ जना दैनिक ज्यालादारी कर्मचारीहरुले कार्यालय परिसरमा धर्ना दिएका हुन्। ४० औँ वर्षदेखि दिनरात र घामपानी नभनी कार्यरत आफूहरुलाई ५८ वर्षीय उमेर हद लगाएर कामबाट निकाल्न खोजिएको भन्दै आन्दोलन सुरु गरिएको बागमती सिँचाई आयोजना दैनिक ज्यालादारी कर्मचारी समितिका अध्यक्ष विनाद पासवानले बताए ।
उनका अनुसार उमेर हद खारेज गर्न,कात्तिक ११ गते प्रकाशित शर्तहरु सुधार गर्न,आयोजनाले २०७५ बैशाख ३१ गते बनाएको समितिको सेवा सुविधा सम्वन्धी प्रतिवेदन कार्यान्वयन गर्न, चाडपर्व खर्च,पोसाक र महँगी भत्ताको व्यवस्थाको गर्न तथा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन माग गर्दै आन्दोलन गरिएको हो ।
माग पुरा गर्न आफुहरु पहिलो चरणमा कात्तिक २० गतेसम्म कार्यालय समयभर कालोपट्टी बाँधेर धर्नामा बस्ने र माग पुरा नभए मङ्सिर १ गतेदेखि तालाबन्दीमा उत्रने अध्यक्ष पासवानले बताए । तत्काल कार्यालय तथा सिँचाई नहरका काम प्रभावित नहुने गरी सर्लाही र रौतहटमा खटिएका दैनिक ज्यालादारी कर्मचारीहरु आलोपालो गरी धर्नामा बसेको भएपनि आफुहरुको माग सम्बोधन नभए दोस्रो चरणको कार्यक्रमलाई थप प्रभावकारी बनाउने तयारी गरिएको उनको भनाई छ ।
परियोजनाका ज्यालादारी कर्मचारीहरुले नहरको रेखदेख, माली,सुरक्षागार्ड,चालक,प्लम्बर, सरसफाईलगायतको काम गर्दै आइरहेका छन्।५८ वर्षीय उमेर हद खारेजीको माग गर्दै आयोजनाका दुई सय ४४ जना र बागमती–मनुष्मारा–झाँझ सिँचाई व्यवस्थापन कार्यालय कर्मैयाका २० जना गरी दुई सय ६४ जना दैनिक ज्यालादारी कर्मचारीहरु आन्दोलित भएका हुन।
आयोजनामा कार्यरत कर्मचारीहरुले हरेक आर्थिक वर्षको अन्त्यमा तथा चाडपर्वको समयमा यस प्रकारका आन्दोलन गरि राखेका भएपनि सरोकारवाला पक्षले त्यसको दिर्घकालिन समाधानका लागि कुनै पहल नगरेको पाइएको छ ।
दैनिक ज्यालादारी कर्मचारीहरुको माग आयोजनाले सम्बोधन गर्न नसक्ने भएकाले विभाग तथा मन्त्रालयमा पठाएको भएपनि त्यहाँबाट कुनै पहल नभएको आयोजनाका सूचना अधिकारी सुनिल साहले बताए । उनले थपे हामीले उहाँहरुको माग सम्बोधन गर्ने होईन् ।समन्वय गर्ने हो ।त्यो समन्वय गरि राखेका छौँ ।

सम्बन्धित समाचार