नेकपा(माओवादी केन्द्र)को हुलाकी राजमार्ग विशेष तराई मधेश जागरण अभियान सर्लाही आईपुगेको छ ।फागुन १२ गते झापावाट सुरु भएको अभियान बिहीबार सर्लाही आई पुगेको माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन)ले जानकारी दिए।उनका अनुसार बिहीबार महोत्तरीबाट सर्लाहीको पर्सा गाउँपालिका प्रवेश गरेको अभियान शुक्रबार मलंगवामा रहेको कवड हलमा खबरदारी सभा एवम वृहत् पार्टी प्रवेश कार्यक्रम गरी कौडेना हुँदै रामनगरबाट रौतहट प्रवेश गर्ने छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल(प्रचण्ड)सहित करिब आधा दर्जन केन्द्रीय पदाधिकारीहरु तराई मधेश जागरण अभियान लिएर जनतासंग प्रत्यक्ष साक्षतकारमा निस्केका माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले बताए।उनका अनुसार माओवादी केन्द्र प्रति दुखेका जनताका मनलाई मल्हम लगाउँदै जनतासंग माओवादी जोड्ने अभिप्रायले अभियान सुरु गरिएको हो ।
अभियानको क्रममा विभिन्न पार्टी परित्याग गरी हजारौँ नेता कार्यकर्ताहरु माओवादी केन्द्रका प्रवेश गरेका छन्।पुस २१ देखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने,सुझावहरु संकलन गर्ने तथा जनता र माओवादी केन्द्रको नेतृत्वको सम्बन्धलाई विस्तार गर्ने उद्धेश्य अन्तर्गत तराई मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको माओवादी केन्द्र मधेश प्रदेश इन्चार्ज मातृका यादवले बताए ।
माओवादी केन्द्रका एक नेताका अनुसार जनता समाजवादी पार्टी(जसपा)छाडेका निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद कुमार साह सहित विभिन्न पार्टीका हजारौँ नेता कार्यकर्ताहरु मलंगवामा हुने पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।