वन पैदावार विकास समिति विगत करिब पाँच महिनादेखि नेतृत्व विहिन हुँदा सागरनाथ वन विकास परियोजना अनिर्णयको बन्दी बनेको छ।राजनीतिक नियुक्ती हुने समितिको अध्यक्ष राजदेव यादवले राजनीतिक शक्ति समिकरण नमिल्दा भदौमा राजीनामा दिएपछि सरकारले समितिको अध्यक्ष नियुक्त गर्न नसक्दा समिति नेतृत्व विहिन भएको छ ।समिति नेतृत्व विहिन हुँदा समिति मातहत रहेका सागरनाथ वन विकास परियोजना सर्लाही र रतुवामाई वन विकास परियोजना केरखा झापा अनिर्णयको बन्दी बनेका पाइएको छ।
सरकार परिवर्तन भएसंगै राजनीतिक नियुक्त हुने समितिको अध्यक्ष विगत पाँच महिनादेखि नियुक्त हुन नसक्दा परियोजनाहरुमा आर्थिक तथा जनशक्ति व्यवस्थापनका साथै वार्षिक कार्यक्रमहरु स्वीकृत हुन सकेको छैन् भने परियोजनाको धेरै काम प्रभावित भएको परियोजनाका निमित्त प्रमुख खेमलाल वि.कले बताए।उनका अनुसार समिति अध्यक्ष विहिन हुँदा परियोजनाका नीतिगत निर्णयहरु समेतप्रभावित भएका छन्।यसका साथै परियोजनाको घाटगद्धीमा रहेको काठको मुल्य निर्धारण तथा सामायोजन हुन नसक्दा काठ लिलाम बिक्रि समेत हुन नसक्दा काठ कुहिने अवस्थामा पुगेको छ।नेतृत्व विहिन समितिका कारण उच्चस्तरिय समन्वय हुन नसक्नुका साथै वन पैदावार उत्पादनको लक्ष्य प्रभावित हुने अवस्थामा पुगेको छ ।
यता, मुद्धाविचारधिन अवस्थामा रहेका कारण समितिको अध्यक्ष नियुक्त हुन नसकेको वन तथा वातावरण मन्त्रालयका सचिव डा.दीपक कुमार खरालले बताए।उनका अनुसार राजनीतिक नियुक्त हुन सक्ने अवस्था नरहेपनि थप व्ययभार नपर्ने गरी वन तथा वातावरण मन्त्रालयका कुनै कर्मचारीलाई तत्कालका लागि खटाएर भएपनि समितिको समस्या समाधान गर्ने तयारी भई रहेको छ ।समितिमा अहिले निमित्त कार्यकारी अध्यक्षको रुपमा जितेन्द्र कर्मचार्य रहेका छन् ।