जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले दोस्रो लालबन्दी महोत्सवमा सचेतनामूलक स्टल राखेको छ।लालबन्दी नगरपालिका ९ स्थित भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजित महोत्सव अवलोकनमा आउनेहरुलाई ट्राफिक नियम,दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि ध्यान दिनुपर्ने विषयमा जानकारी गराउनुका साथै ट्राफिक सचेतनामूलक सामग्री,ब्यानर,ट्राफिक चिन्ह तथा संकेत र ट्राफिक प्रहरीले प्रयोग गर्ने तरिका जानकारी गराउन स्टल राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीका प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले जानकारी दिए ।
उनका अनुसार स्टलमा विभिन्न उपकरणहरु प्रदर्शनीमा राखिएको छ साथै मानिसको भीडभाड हुने महोत्सवस्थलको माध्यमबाट ट्राफिक नियमको पालना गराउने र सडक दुर्घटना न्यूनिकरण गर्ने मुख्य उदेश्यसहित मोफसलमा यसरी नमूनाका रुपमा महोत्सवस्थलमा स्टल राखेर सचेतना प्रदान गर्ने काम गरिएको हो ।
महोत्सवमा आउने मानिसहरुलाई ट्राफिक प्रहरीले ट्राफिक नियम तथा सचेतनासम्वन्धी पर्चा वितरण गर्ने,मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन,ट्राफिक नियमको पालना गर्न,रातको समयमा अरु सवारी साधनलाई बाधा हुने गरी हाइ लाइटको प्रयोग नगर्न र सवारी साधन चलाउँदा सडकमा ध्यान केन्द्रीत गरी दुर्घटना न्यूनिकरण गर्न सहयोग पुर्याउन भन्दै ट्राफिक नियम तथा सचेतनासम्वन्धी पर्चा प्रदर्शनीमा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर,सर्लाहीले जनाएको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीको आयोजनामा चैत्र ४ गते सम्म सञ्चालन हुने महोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत सचेतना जगाउने उद्देश्यसहित ट्राफिक प्रहरीलाई महोत्सवस्थलमा स्टल प्रदान गरिएको उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकी(दिपक)ले बताए ।“आर्थिक समृद्धि र स्वरोजगारको आधार–कृषि,पर्यटन,उद्योग र व्यापार”भन्ने मूल नारासहित फागुन २३ गतेदेखि सुरु भएको दोस्रो लालबन्दी महोत्सव अगामी चैत ४ गतेसम्म संचालन हुने छ ।