स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा सर्लाहीमा मिश्रित परिणाम आएको छ।स्ववियु निर्वाचन हुने चार वटा क्यापस मध्य एउटामा सर्व सहमत र बाँकी रहेका तीनवटामा निर्वाचन भएको भएपनि मिश्रित परिणाम आएको हो।सर्लाही क्याम्पस मलंगवामा नेपाल विद्यार्थी संघका बागी उम्मेदवार सुजित यादवको प्यानल विजयी हुँदा जनज्योती बहुमुखी क्याम्पस लालबन्दीमा समिर सिंह र चर्तुभुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी हरिवनमा अनेरास्ववियुकै हिमाल घिमिरे निर्वाचित भएका छन् ।
मलंगवा क्याम्पसमा यादव छ सय २४ मत प्राप्त गर्दै विजय हुँदा निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका कृष्णकुमार यादवले तीन सय ९५ मत प्राप्त गरेका थिए।जनज्योती बहुमुखी क्याम्पसमा अनेरास्ववियु,अनेरास्ववियु (एस) र अनेरास्ववियु(क्रान्तिकारी)को संयुक्त प्यानलबाट सभापतिका उम्मेदवार रहेका सिंह चार सय १० मतसहित सभापतिमा विजयी हुँदा नेवि संघका निर्मल अधिकारीले तीन सय २५ मत पाएका छन् ।
मलंगवा क्याम्पसमा यादवकै प्यानलबाट सचिवमा रोशन कुमार यादव,कोषाध्यक्षमा नितु कुमारीसहित सदस्यहरु निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । तीन हजार दुई सय ४९ मतदाता रहेको क्याम्पसमा एक हजार तीन सय ६७ मत खसेको थियो ।
त्यस्तै,जनज्योति बहुमुखी क्याम्पस लालबन्दीमा पनि अनेरास्ववियु,अनेरास्ववियु(एस) र अनेरास्ववियु(क्रान्तिकारी)को संयुक्त प्यानल नै निर्वाचित भएका छन् ।संयुक्त प्यानलबाट जनज्योतिको स्ववियु सचिवमा रोशना पोखरेल (रोजिना),कोषाध्यक्षमा संयुक्त प्यानलबाट निकी कुमारी निर्वाचित हुँदा सदस्यमा नेविसंघ एकमात्र प्रकृति कुमारी निर्वाचित भएकी निर्वाचन समिलिे जनाएको छ ।
एक हजार ८४ मतदाता रहेको जनज्योतीमा सात सय ४७ मत खसेको थियो ।
साथै,चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी,हरिवनको स्ववियु सभापतिमा अनेरास्ववियुका घिमिरे सहित पदाधिकारी र सदस्यमा अनेरास्ववियु र नेविसंघको प्यानल नै निर्वाचित भएका छन् ।स्ववियु सचिवमा रोहन उप्रेती र कोषाध्यक्षमा स्मृति श्रेष्ठ निर्वाचन भएका हुन ।यता,कर्मैया आदर्श जनता क्याम्पस बागतमीमा अनेरास्ववियु(क्रान्तिकारी)को संयुक्त प्यानल नै सर्व सहमत चयन भएका थिए ।