मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशभर अवैध रूपमा सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरूलाई तत्काल बन्द गर्न निर्देशन दिएका छन्।प्रदेशका विभिन्न स्थानमा अनुमति नलिई सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरुले बिरामीको स्वास्थ्यलाई गम्भीर जोखिममा पारिरहेको गुनासो आएपछि सरकार प्रमुख तहबाटै ती संस्थाहरूको अनुगमन तीव्र पारिएको उनले बताए ।
अनुगमनका क्रममा सेवा सञ्चालन अनुमति नलिएका निजी स्वास्थ्य संस्थाहरूलाई बन्द गर्न,नवीकरण नगराएका स्वास्थ्य संस्थाहरूलाई कानुनी प्रक्रिया पूरा गर्न तथा तोकिएको मापदण्ड अनुसार अनुमति लिन निर्देशन दिइएको मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालय मधेश प्रदेशले जनाएको छ। जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को प्रावधान अनुसार बिना अनुमति सञ्चालित निजी स्वास्थ्य संस्थाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने मुख्य मन्त्री सिंहले चेतावनी दिए ।
प्रदेश सरकारले सर्लाहीको नवलपुर,हरिवन र मलंगवाका साथै रौतहटको चन्द्रनिगाहापुरका साथै मधेश प्रदेशका आठै जिल्लाका विभिन्न स्थानमा प्रचलित नियम कानुनको पालना नगरी सञ्चालित निजी स्वास्थ्य संस्थाहरुलाई बन्द गर्न निर्देशन दिएका थिए।तर,केही दिन बन्द रहेपनि उनीहरुले आफुखुसी पुनःसञ्चालनमा आएर स्वास्थ्य सेवाको नाममा प्रदेशबासीको स्वास्थ्यमा खेलवाड गरि रहेका पाइएप्छि प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको हो ।मुख्य मन्त्री सिंहको नेतृत्वको टिमले बन्द गराएका कतिपय निजी स्वास्थ्य संस्थाहरु सम्बन्धीतस्थानीय तहहरुले आफुखुसी अनुमती दिएर पुनसञ्चालनमा ल्याईपछि मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको हो ।
संघीय र प्रादेशिक कानुनमा कुनै पनि स्वास्थ्य संस्थालाई अस्थायी अनुमति दिन सकिने व्यवस्था नरहेको स्पष्ट गर्दै यस्ता गलत कार्यहरू अक्षम्य रहेको मुख्यमन्त्री सिंहले बताए।मुख्यमन्त्री सिंहले सबै स्थानीय तहलाई कानुन अनुसार मात्र स्वास्थ्य सेवा सञ्चालन अनुमति पत्र जारी गर्न आग्रह गरेका छन्।साथै,प्रदेश सरकारले स्वास्थ्य संस्थाहरूको निरन्तर अनुगमन गर्ने र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आवश्यक कडा कदम उठाउने उनले प्रतिबद्धता व्यक्त गरे ।