काठमाडौंको तीनकुने क्षेत्रमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।शुक्रबार राजावादीहरूकोे प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियोग्राफर सुरेश रजकको मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले द्वारा पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
उनका अनुसार झडपमा घाइते भएका महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने तीनकुनेमा आगजनी भएको घर भित्र एभिन्यूज टेलिभिजनमा कार्यरत भिडियोग्राफर रजकको शव भेटिएको हो ।
यस्तै काठमाडौंका विभिन्न स्थानमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा ३५ जना घाइते भएका छन्।गृह मन्त्रालयका अनुसार प्रदर्शनकारीतर्फ २३,सशस्त्र प्रहरीतर्फ नौ र नेपाल प्रहरीतर्फ तीन जना घाइते भएका हुन् ।तीनकुने क्षेत्रमा राजावादीहरुको प्रदर्शनले उग्र रुप लिएर निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको थियो । त्यसपछि प्रर्दशन झनउग्र भएपछि सो क्षेत्रमा कर्फु आदेश जारी गरिएको छ ।
यता,प्रदर्शनका नाममा गरिएको हिंसात्मक गतिविधिको मानव अधिकारको क्षेत्रमा काम गरि रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विज्ञप्ती मार्फत भत्र्सना गरेको छ।मानव अधिकार र सामाजिक न्यायका निम्ति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालको हस्ताक्षरमा जारी गरिएको प्रेस विज्ञप्तीमा“आज चैत १५ गते पूर्व राजाका समर्थकहरूले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा गरिएको आगजनी,तोडफोड र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र व्यक्तिको जिउधनको सुरक्षाको आधारभूत अधिकारको हनन् भएको छ।आन्दोलनका नाममा गरिएको आगजनीमा पत्रकारको मृत्यु भएको छ।यही क्रममा एकजना प्रदर्शनकारीको समेत मृत्युको खबर सार्वजनिक भएको छ। प्रदर्शनका नाममा राजनीतिक दल तथा आमसञ्चार माध्यमका कार्यालयहरूमा गरिएको आक्रमणलाई लोकतान्त्रिक अभ्यास मान्न सकिँदैन ।जनताको जिउधनको सुरक्षा गर्ने आफ्नो दायित्व पूरा गर्न र अपराधमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नेपाल सरकार समक्ष माग गर्दछौं।घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”भनिएको छ ।