Close This

१० लाख हिनामिना गरेको आरोपमा सशस्त्र प्रहरी निरीक्षक र हवल्दारमाथि छानविन शुरु

पत्र पत्रिका    प्रकाशित: २०७७-४-४ गते   ३०० पटक हेरिएको

बाराको सिम्रौनगढस्थित गोलागन्ज सशस्त्र प्रहरीको बीओपी माथि सशस्त्रकै बाहिनीले छानविन शुरु गरेको छ । व्यापारी तथा स्थानीयवासीको उजुरीको आधारमा सशस्त्र प्रहरीको प्रदेश नम्बर २ बाहिनीले गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक कबीर मल्ल र सहायक हवल्दार सनोज यादवमाथि छानविन शुरु गरेको हो।

प्रदेश २ को बर्दिवासस्थित बाहिनीबाट सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदीको नेतृत्वमा पुगेको ४ सदस्यीय टोलीले शुक्रबारदेखि सिम्रौनगढस्थित बीओपी गोलागन्ज पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ । सशस्त्र प्रहरी निरीक्षक मल्ल र सहायक हवल्दार यादवलाई तस्करीसँग मिलेर हुन्डी कारोवार गरेको आरोप लागेको छ । उनीहरुमाथि हुण्डीको कारोबार गर्ने व्यापारीले भारतबाट नेपाल भित्रियाउने क्रममा कपडको पोकामा लुकाई राखेको २५ लाख रुपैयाँसहित कपडा पक्राउ गरेको र १५ लाख सार्वजनिक गर्दै १० लाख झवाम पारेको उजुरी परेको थियो ।

उजुरीकर्ताहरुले सो सम्बन्धमा लिखित बयान दिएपछि अनुसान्धन शुरु गरिएको सशस्त्र प्रहरी बलनिकट स्रोतले जानकारी दिएको छ । लकडाउन सुरु हुनुभन्दा अगाडी तस्करीको सामान पक्राउ गर्दा उक्त समानबाट प्रहरी निरिक्षक मल्लले महंगो समान तथा खाद्यान्न, कपडा र साडी समेत निकाली  रात्री बसमा राखेर काठमाडौं समेत पठाउने गरेको स्थानीयहरुले बताएका छन् ।

सशस्त्र प्रहरीको १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी र गोलागन्ज बीओपीका सशस्त्र प्रहरी निरीक्षक मल्लले रकम संकलनका लागी लामो समयदेखि सहायक हवल्दार यादवलाई बीओपीमार्फत सादा पोशाकमा खटाएको बताइएको छ ।

सशस्त्र प्रहरीको प्रदेश बाहिनीले पटक पटक सहायक हवल्दार यादवलाई बीओपीबाट गणमा सरुवा गर्न निर्देशन दिएपनि सशस्त्र प्रहरी उपरीक्षक सुवेदी र सशस्त्र प्रहरी निरीक्षक मल्लले बेवास्ता गर्दै आएका थिए । प्रदेश बाहिनीबाट छानविन टोली आउने थाहा पाएपछि  सुवेदीले सहायक हवल्दार यादवलाई दुईदिन अगाडि कलैयास्थित सशस्त्र प्रहरीको गणमा सरुवा गरेका छन् ।  

व्यापारीले एक महिना अघिनै अडियो रेकर्डिङ सहितको उजुरी सशस्त्र प्रहरी मुख्यालयमा गरेका थिए । मुख्यालयको निर्देशनपछि प्रदेश बाहिनीले प्रहरी निरीक्षक मल्ल र सहायक हवल्दार यादवमाथी अनुसन्धान थालेको हो ।रातोपाटी

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech