करिब एक वर्षदेखि परियोजनाका कर्मचारीहरु तलब विहीन

213 Shares

सागरनाथ वन विकास परियोजना सर्लाहीका कर्मचारीहरुले विगत करिब ११ महिनादेखि तलब पाउन सकेका छैनन्।परियोजनामा कार्यरत करिब एक सय ४३ जना कर्मचारीहरुले गएको बैशाख महिनादेखि तलब नपाउँदा चाडबाड मनाउन,छोराछोरी पढाउन,औषधि उपचार गर्न र दैनिक छाक टार्न ऋण लिनुपरेको कर्मचारीहरुले गुनासो गरेका छन्।
उनीहरुले तलब माग गर्दै वन तथा वातावरण मन्त्री र नेपाल सरकारका मुख्यसचिवलाई समेत पत्र काटेर हार गुहार गरेका छन्।संघीय सरकारको वन तथा वातावरण मन्त्रालय मातहत रहेको वन पैदावार विकास समितिबाट आवश्यक नीतिगत निर्णय नहुँदा ११ महिनासम्म तलब नपाएको परियोजनाको मजदुर युनियनका अध्यक्ष सन्तोष साह तेलीले गुनासो गरे।वन पैदावार विकास समिति नेतृत्व विहीन हुँदा परियोजनाका एक सय ४३ जना कर्मचारीले तलब खान नपाएका हुन ।
संघ वा प्रदेश सरकार कसको मातहत रहने भन्ने विवादको चङ्गुुलमा फसेको परियोजनामा कार्यरत निजामती कर्मचारी र मजदुरले पछिल्ला केही वर्षदेखि यसैगरी महिनौसम्म तलब विहीन भएर काम गर्न बाध्य भइरहेको कर्मचारीहरुको गुनासो छ ।परियोजनाका कर्मचारीले एक हप्ताभित्र तलब नपाए हड्तालमा उत्रने चेतावनी दिएका परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले बताए ।
उनका अनुसार गएको भदौदेखि वन पैदावार विकास समिति अध्यक्ष विहीन रहेकाले नीतिगत निर्णय हुन नसक्दा कर्मचारीहरु करिव एक वर्षसम्म तलब विहीन भएर बस्नुुपरेको हो ।कर्मचारीले तलब पाउने व्यवस्था मिलाउनकै लागि आफू मन्त्री भेट्न काठमाडौं पुुगेको परियोजना प्रमुख विश्वकर्माले जानकारी दिए ।
आफू परियोजना प्रमुख भएर आएपछि ५० क्यूबिकफिट काठ बिक्री गरेर डिजेल र पेट्रोलको पुरानो पैसा तिरेको र कर्मचारीलाई केही महिनाको तलब समेत खुवाएपनि त्यसपछि भने संघीय सरकार मातहतको वन पैदावार विकास समिति नै पदाधिकारी विहीन बनेपछि तलब निकासा,नीतिगत निर्णय गर्न समस्या हुनुका साथै परियोजनामा भएका काठ बिक्री तथा काठ कटानको काम ठप्प भएको परियोजना प्रमुख विश्वकर्माले बताए ।
सरकारले वन पैदावार विकास समितिको अध्यक्ष नियुक्त गर्न बेवास्ता गर्दा सर्लाही,महोत्तरी र रौतहटमा फैलिएको सागरनाथ वन विकास परियोजना र झापामा रहेको रतुुवामाई वृक्षारोपण आयोजनाका कर्मचारी समेत लामो समयसम्म तलब विहीन हुनुुपरेको हो ।

सम्बन्धित समाचार