पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको बागमती नगरपालिका ११ बाट करिब १३ लाख बराबरको कवाड प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको बागमती नगरपालिका ११ मा चेकजाँचमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोडबाट पर्साको वीरगन्ज तर्फ जाँदै गरेको कवाड बोकेको ना ६ ख ९८७५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा विल विजक शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।उनका अनुसार नियन्त्रणमा लिएको ट्रकमा अन्दाजी रु १२ लाख ७४ हजार छ सय ९६ रुपैँया ५० पैसा बराबरको कवाड रहेको र ट्रकलाई आवश्यक कार्बाहीका लागि राजश्व कार्यालय पथलैया बारा बुझाईएको छ ।

त्यसैगरी,भन्सार छलि चोरी निकासी गरी नेपालबाट भारत तर्फ लादैँ गरेको करिब साँढे १४ लाख बराबराको स्याउ प्रहरीले नियन्त्रणमा लिएको छ।सर्लाही बरहथवा नगरपालिका ११ हिरापुर स्थित नयाँरोड मधुवनी सडक खण्डबाट ना.४ ख ७१५० नम्बरको कन्टेनरलाई विशेष सुराकीको आधारमा रोकी चेकजाँच गर्दा अन्दाजी मुल्य रु १४ लाख ४० हजार बराबरको स्याउ भन्सार छलि चोरी निकासी गरी नेपालबाट भारत तर्फ लादैँै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक राईले बताए ।

उनका अनुसार नियन्त्रणमा लिएको ट्रक,ट्रकका चालक पर्साको जिरा भवानी गाउँपालिका २ का अन्दाजी वर्ष ३६ का संजय चौधरी सहित उक्त स्याउ आवश्यक कारवाहीको लागि सर्लाही भन्सार कार्यालय,मलंगवा पठाईएको छ ।यसबाट सर्लाहीको पश्चीम क्षेत्रका सिमानाकाहरुबाट सुरक्षाकर्मीहरुको मिलेमतोमा भन्सार छलीको ठूलो कारोबार हुने गरेको प्रष्ट हुन्छ ।
