सर्लाहीको लालबन्दी नगरपालिका १५ को वडा कार्यालय सोमबारबाट आफ्नै भवनबाट सञ्चालनमा आउने भएको छ।लालबन्दी नगरपालिका १५ को झरझरामा निर्माण भएको वडा कार्यालय भवनको सोमबार लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले उद्घाटन गरेका लालबन्दी नगरपालिका १५ का वडा अध्यक्ष गोरख बहादुर बलले जानकारी दिए ।
उनका अनुसार यस अघि लालबन्दी नगरपालिका १५ र लालबन्दी नगरपालिका १६ को कार्यालय लालबन्दी नगरपालिका १६ को कार्यालयबाट संयुक्त रुपमा कार्यालय संचालन भई रहेको थियो।लालबन्दी नगरपालिका १५ को कार्यालयको रु ३६ लाखको लागतमा निर्माण भएको चार कोठे एक तले भवनबाट वडा कार्यालय बुधबारबाट सञ्चालनमा ल्याइने वडाध्यक्ष बलले बताए ।
लालबन्दी नगरपालिका १६ का सरोज कुमार खड्का र ललित कुमार थापाले निःशुल्क प्रदान गरेको चार कठ्ठा १० धुर जग्गामा वडा कार्यालय भवन निर्माण गरिएको हो।वडा कार्यालय भवन निर्माण गरी उद्घघाटन कार्यक्रमको अवसरमा जग्गादाता खड्का र थापालाई नगर प्रमुख अधिकारीले कदर–पत्रसहित सम्मान गरेका छन् ।
त्यस्तै निर्धारित मितिमै वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी भेषबहादुर बम्जनलाई समेत वडा कार्यालयले कदर–पत्रसहित सम्मान गरेको छ।लालबन्दी नगरपालिकाका १७ वटा वडा हरु मध्य अब लालबन्दी नगरपालिका १४ नारायणखोला बाहेक अन्य सबै वडाहरुको आफ्नै वडा कार्यालय निर्माण भई भवन संचालनमा आएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दिए ।
वडाध्यक्ष बलको अध्यक्षता तथा नगर प्रमुख अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित वडा कार्यालय उद्धघाटन कार्यक्रममा नगर उप प्रमुख कल्पना माया पाख्रिन,प्रमुख प्रशासकीय अधिकृत न्यौपाने,लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेश बहादुर थापा सहित जिल्ला समन्वय समिति सर्लाहीका सदस्य हेमबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।