सर्लाहीको लालबन्दी नगरपालिका १७ रानीगन्जमा रहेको खानेपानीको ट्याङकी जिर्ण भएपछि पानी वितरणमा समस्या उत्पन्न भएको छ।लालबन्दी नगरपालिका १७ रानीगन्ज खानेपानी मूल उपभोत्ता समितिको २०४५ सालमा स्थापना भएको दुुई लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङकी चर्किएर जिर्ण भएर पानी चुहिन थालेपछि पानी वितरणमा समस्या उत्पन्न भएको रानीगन्ज खानेपानी मूल उपभोत्ता समितिले जनाएको छ ।
तत्कालिन रानीगन्ज गा.वि.स.को तीनवटा वडामा खानेपानी वितरण हुँदै आएको रानीगन्ज खानेपानी मूल उपभोत्ता समितिको यो ओभरहेड ट्याङकीबाट अहिले लालबन्दी नगरपालिका १७ को करिब एक हजार दुई सय घरधुरीमा पानी वितरण हुँदै आएको भएपनि २०७२ सालको भूकम्पपछि रानीगन्ज खानेपानीको ट्याङकी जिर्ण बनेको हो ।
भूकम्पपछि ट्याङकी नै कोल्टिएको र पिल्लर तथा पानी जम्मा हुने भाँडो चर्किएकाले जुनसुकै बेला ट्याङकी ढलेर खानेपानीको हाहाकार हुनसक्ने अवस्था रहेको रानीगन्ज खानेपानी मूल उपभोक्ता समितिले जनाएको छ।नयाँ ओभरहेड ट्याङकी निर्माणका लागि लालबन्दी नगरपालिका,मधेश प्रदेश र संघीय सरकारलाई पटक पटक जानकारी गराईएको भएपनि कतैबाट बजेट विनियोजन नहुँदा निराश हुनुपरेको उपभोक्ता समितिले जनाएको छ ।
यता,पुरानो ट्याङकीको मर्मतका लागि नगरबाट वर्षेनि केही रकम विनियोजन गर्ने गरिए पनि नयाँ ट्याङकी निर्माण गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले संघीय सरकार नै गुहार्नुपर्ने स्थिति रहेको लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले बताए।नगरप्रमुख अधिकारीका अनुसार नगरकै बजेटबाट करोडौँ खर्चिएर ट्याङकी निर्माण गर्न सम्भव छैन् भने,वडाले झन सम्भव छैन् ।
खानेपानीको नयाँ ट्याङकी निर्माणका लागि सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवसँग समेत भेट गरेर फर्किएको तर बजेटको सुनिश्चिता नै नभएको समितिले गुनासो गरेको छ ।समितिले आठ करोड भन्दा माथिको इस्टिमेटसहित साँढे चार लाख लिटर क्षमताको नयाँ ओभरहेड ट्याकी माग गरेको भएपनि बजेटको सुनिश्चितता हुन सकेको छैन् ।