माओवादी केन्द्रले तीन महिनाभित्र मधेश प्रदेशका सबै तहका समिति गठन गर्ने

297 Shares

नेकपा(माओवादी केन्द्र)ले मधेश प्रदेशमा तीन महिनाभित्र सबै तहका समिति गठन तथा पुर्नगठन गर्ने निर्णय गरेको छ।मधेश प्रदेशमा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको  मधेश प्रदेशको महोत्तरीमा बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका उप महासचिव  एवम मधेश प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवले जानकारी दिए ।उनका अनुसार बैशाखदेखि असारसम्म वडा तहदेखि प्रदेशसम्म सम्मेलन गर्ने,सदस्यता वितरण गर्ने,सदस्यता नविकरण गर्ने र बनेका समितिलाई पुर्नगठन गर्ने तथा समिति नरहेको ठाउँमा नयाँ समिति बनाउने निर्णय गरेको भएको छ ।
मधेश प्रदेशमा पार्टीभित्र संस्थापन र संस्थापन इतरको आन्तरिक विवादका कारण पालिकादेखि प्रदेशसम्मका समितिहरु अस्तव्यस्त रहेका छन्।मधेश प्रदेशका अधिकांश ठाउँमा समिति नै बन्न सकेको छैनन्।प्रदेशमै पटक पटक समिति बनाउने प्रयास भएपनि पार्टीभित्र संस्थापन र संस्थापन इतरको आन्तरिक विवादको कारण त्यो काम अगाडि बढी रहेको थिएन । मधेश प्रदेशका आठै जिल्लामा पनि त्यही अवस्था छ।माओवादी केन्द्रका उपमहासचिव यादवलाई मधेश प्रदेशको इन्चार्ज बनाए पछि संगठनका कामहरु अगाडि बढ्न थालेका छन् । इन्चार्ज यादवले प्रदेशमा बैठक बसाएर पालिका,जिल्ला तथा प्रदेशहरुको बैठक बसेर समितिहरु बनाउने सहमति गराएका माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल लोचनले बताए ।
त्यस्तै,बैठकले मधेश प्रदेशमा रहेका जनवर्गीय संगठनहरुको संयोजक तोक्ने निर्णय पनि गरेको छ।त्यस्तै बैठकमा माओवादी केन्द्रले सञ्चालन गरिरहेको हुलाकी राजमार्ग विशेष जनतासंग माओवादी अभियानको समिक्षा पनि गरेको छ।त्यस्तै चैत १५ गते काठमाडौँमा भएको जनसभामा मधेश प्रदेशबाट भएको सहभागिताको विषयमा पनि समिक्षा गरिएको माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ।हुलाकी राजमार्ग अन्तर्गतको अभियान पूर्णत सफल रहेको र त्यसले संगठनमा एउटा उर्जा थपेको बैठकले निष्कर्ष निकालेको केन्द्रीय सदस्य एवम सर्लाही इन्चार्ज अच्युमत प्रसाद काफ्लेले बताए ।

सम्बन्धित समाचार