शान्तिका अग्रदूत सिद्धार्थ गौतम अर्थात गौतम बुद्धको २५ सय ६९ औं बुद्ध जयन्ती सर्लाहीका विभिन्न स्थानहरुमा हर्षोउल्लासका साथ मनाइएको छ।सर्लाहीको लालबन्दी,ईश्वरपुर,हरिवन, बागमती,हरिपुर र बरहथवा नगरपालिकामा रहेका गुम्बा तथा तामाङ समुदायको बाहुल्यता रहेको बस्तीमा २५ सय ६९ औँ बुद्ध जयन्ती हर्षोउल्लासका साथ मनाइएको हो।बुद्ध जयन्तीको अवसरमा तामाङ समुदायको भेषभुुषा र पहिचान झल्कने झाँकीसहित र्याली, अन्तरक्रिया,शुुभकामना आदान प्रदान र साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाईने बुद्ध जयन्तीको अवसरमा जिल्लाका प्रत्येक बौद्ध गुम्बामा सोमबार दिनभर मानिसको अत्यधिक चहल पहल देखिन्थ्यो।सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको जानकारहरु बताउँछन् ।
उनीहरुका अनुसार बुद्धको जन्म,ज्ञान प्राप्ति,महापरिनिर्वाण अर्थात मृत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा भएकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन्।बौद्ध धर्मावलम्बीले चैत्य,गुम्बा र विहारलगायतका ठाउँमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरि बुद्ध जयन्ती मनाउने गरिएको इन्द्र लामाले बताए ।
यस अवसरमा लुम्बिनी,स्वयम्भू र बौद्धलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन्।इसापूर्व पाँच सय ६३ अर्थात् आजभन्दा २५ सय ६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा बुबा शुद्धोधन र आमा मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको बौद्धधर्म शास्त्रहरुमा लेखिएको छ ।