मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध जन्मकैदको मागदाबीसहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।आइतबार प्रहरी अनुसन्धानका आधारमा तीनकुने घटनामा संलग्न भएको जिकिर सहित जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौँले काठमाडौँ जिल्ला अदालतमा मेडिकल व्यवसायी प्रसाईँ विरुद्ध जन्मकैदको मागदाबीसहित मुद्दा दायर गरेको हो ।
मेडिकल व्यवासायी प्रसाईँ सहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौँका प्रमुख रामहरी शर्माले बताए । यस्तै चार जना नाबालकलाई बाल अदालतमा मुद्दा चलाउने तयारी भएको छ ।तर उनका अंगरक्षक दिपक खड्का विरूद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ।सरकारी वकिलको कार्यालय काठमाडौंले खड्का सहित नौ जनाविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको हो।
मुद्दा नचलाउने निर्णय भएकाहरूमा गोपिकृष्ण खड्का,सन्तोष चौधरी,रामकुमार धिमाल,अनिता कुँवर(एनी),दिपक खड्का,शिशिर जिसी,खेमराज सेढाई,मिनोज थापा र अनिल बस्नेत रहेका छन्।उनीहरू विरूद्ध प्रमाण प्राप्त गर्न नसकेको भन्दै मुद्दा नचलाउने निर्णय भएको हो।खड्कालाई प्रहरीले प्रसाईंसँगै चैत २९ गते भारतको असमबाट पक्राउ गरी नेपाल ल्याएको थियो।चैत १५ गतेको घटनापछि एनी कुँवर पनि सामाजिक सञ्जालमा विवादमा आएकी थिइन्।पत्रकार सुरेश रजक जलेको घरबाट बाहिर निस्किँदै गरेको भिडिओमा उनी देखिएकी थिइन्।