विवादित धर्मगुरु बम्जन सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि कारागार चलान

296 Shares

विवादित धर्मगुरु रामलाल बम्जन(रामबहादुर)लाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ।“लिटिल बुद्ध”का नामले समेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार थुनामा राख्ने आदेश गरेको हुन।आदेशसँगै उनलाई मलंगला कारागार चलान गरिएको छ ।
सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ) कसुरमा बम्जनमाथि २०८१ फागुन ५ मा सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो संख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए ।यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी “आनी”माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो।बम्जनलाई जिल्ला अदालतले २०८१ असार १० मा १० वर्ष कैद र रु पाँच लाख क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
त्यसविरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन निवेदन दिएका थिए।उच्च अदालत जनकपुरले जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई गत चैत ६ गते सफाइ दिएको थियो।उच्च अदालत जनकपुरबाट सफाइ पाएसँगै बम्जन जेलमुक्त भएका थिए।तर,सोमबार सम्पत्ति शुद्धीकरण मुद्दामा उनी जेल चलान भएका हुन् ।

सम्बन्धित समाचार