नेपाल आयल निगमले डिजेल,मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ।निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल,मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एक र पेट्रोलमा प्रतिलिटर रु दुई बढाएको हो। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ।हवाई इन्धन(आन्तरिक)तर्फ प्रतिलिर रु तीन र अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ।
मूल्य बढेसँगै पहिलो,दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर एक सय ४० रुपैयाँ ५० पैसा,रु एक सय ४२ र रु एक सय ४३ तथा पेट्रोल क्रमशःप्रतिलिटर एक सय ५६ रुपैयाँ ५० पैसा,रु एक सय ५८ र रु एक सय ५९ तोकिएको छ।आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रु एक सय १८ कायम भएको छ। अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय १, पोखरामा रु सात सय २१ र भैरहवामा रु सात सय ६ तोकेको छ।
इन्डियन आयल कर्पोरेसशनबाट शनिबार प्राप्त नयाँ मूल्यसूची अनुसार डिजेल,मट्टितेल र पेट्रोलको मूल्य बढेर तथा हवाई इन्धनको नयाँ खरिद मूल्य घटेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।