मधेश प्रदेशका ८३ कर्मचारीद्धारा प्रहरी सेवाबाट राजीनामा

249 Shares

नेपाल प्रहरीमा जागरि खाएर समयावधि पहिलै राजीनामा दिने युवाहरुको संख्या मधेश प्रदेशमा सबैभन्दा धेरै रहेको पाइएको छ ।कुनै समय मधेस प्रदेशका युवा माझ नेपाल प्रहरीको जागिर प्रति गहिरो आकर्षण रहँदै आएको भएपनि पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिनेको संख्या बढ्दै गएको छ।विशेषगरी तल्लो दर्जाका प्रहरी कर्मचारीहरू विभिन्न कारण देखाउँदै जागिर छोड्न थालेका छन्।
कम तलब,अत्यधिक कार्यभार,राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणजस्ता कारण प्रहरी सेवाबाट राजीनामा दिने क्रम बढेको छ।प्रहरी जवानहरूको मासिक तलब करिब रु २६ हजार मात्र हुने,जुन दैनिक खर्च र परिवारको पालनपोषणका लागि अपुग हुने गुनासो बढ्दो छ।
प्रहरीलाई कुनै निश्चित कार्य समय नहुने,कहिलेकाहीँ १८ घण्टासम्म पनि ड्युटीमा खटिनुपर्ने बाध्यता हुन्छ।निजामती सेवामा आठ घण्टाको कार्य समय भए पनि प्रहरीलाई यथा समय, यथास्थान ड्युटीमा खटिनु पर्ने हुँदा मानसिक र शारीरिक थकान बढ्नुका साथै पोसाक र सुविधाको अभाव पनि देखिएको छ ।प्रहरीहरूले तीन वर्षमा एक जोर जुत्ता र वर्षमा दुई सेट पोसाक मात्र पाउने हुँदा दैनिक १८ घण्टासम्मको ड्युटीमा ती पोसाक पर्याप्त नहुने गुनासो छ।कतिपय अवस्थामा प्रहरीहरू फाटेका जुत्ता र पुराना पोसाकमै काम गर्न बाध्य हुने गरेका छन्।
ड्युटीको क्रममा घाइते भएका प्रहरीहरूको उपचार खर्च राज्यले नबेहोर्ने,कतिपयले खेत बेचेर वा ऋण लिएर उपचार गराउनु परेको पनि पाइएको छ।यस्तै,अन्य प्रदेशमा सरुवा हुँदा परिवारसँग टाढा रहनुपर्ने बाध्यताले पारिवारिक जीवनमा असन्तुलन आएको छ,जुन विशेषगरी मधेस र पहाडबीचको भौगोलिक दूरीका कारण अझ जटिल हुने गरेको छ।प्रहरी सेवाबाट १६ वर्षपछि पेन्सनको व्यवस्था भए पनि सेवा अवधिको आधारमा सुविधा समान हुने भएकाले धेरैले १६ वर्ष नाघ्ने बित्तिकै जागिर छाड्ने गरेका छन्।
चालु आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म ८३ जना प्रहरी कर्मचारीहरुले राजीनामा दिएका छन्।तीमध्ये एकजना बरिष्ठ सई, १४ जना असई,२१ जना बरिष्ठ हवल्दार,३१ जना हवल्दार, चार जना सहायक हवल्दार,नौ जना प्रहरी जवान र तीन जना कार्यालय सहयोगी रहेका मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम डिआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।
उनका अनुसार प्रहरी सेवाबाट राजीनामा दिने प्रवृत्ति देशैभर बढ्दो रहेको र महँगीअनुसार तलब र सुविधा नबढेकोले यस्तो अवस्था सिर्जना भएको हो।छोराछोरीको शिक्षाको ग्यारेन्टी, परिवारसहितको स्वास्थ्य उपचार,राशन तथा अतिरिक्त भत्ताको व्यवस्था गरिएमा प्रहरी सेवाप्रति पुनःआकर्षण बढ्न सक्ने डिआईजी चतुर्वेदीले बताए ।

सम्बन्धित समाचार