सर्लाहीको लालबन्दी नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।लालबन्दी नगरपालिका १० स्थित इमर्जेन्सी सेल्टर भवनमा लालबन्दी नगरपालिकाको नगर सभाको १४ औँ अधिवेशनमा नगर प्रमुख वासुदेव अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका लालबन्दी नगरपालिकाका नगर प्रमुखको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार नगर प्रमुख अधिकारीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सय बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन।नगर सभामा सार्वजनिक गरिएको नीति र कार्यक्रममा नगरको पूर्वाधार,शिक्षा,स्वास्थ्य,कृषि र सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको नगर उप प्रमुख कल्पना माया पाख्रिनले जानकारी दिईन् ।
उनका अनुसार लालबन्दी नगरपालिकाले बजेटसँगै जनताको सहभागिता सुनिश्चित गर्दै पारदर्शिता र उत्तरदायित्वमा आधारित विकास मार्गमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।२० वटा स्थानीय तह रहेको सर्लाहीका यस अघि बागमती र बलरा नगरपालिका,कौडेना र चक्रघट्टा गाउँपालिकाले आ–आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० भित्र आफ्नो वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रावधान अनुसार जिल्लाका अरु स्थानीय तहहरुले पनि आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति,बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन्।असार १० गतेभित्र नगर तथा गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्ने व्यवस्था अनुसार सर्लाहीका स्थानीय तहहरु धमाधम बजेट तयारीमा लागेका छन् ।