आफ्नौ घरमा असुरक्षित घरेलु हिंसा पीडित रौनियार

341 Shares

सर्लाहीको हरिवन नगरपालिका ९ की कञ्चन रौनियार आफ्नै घरमा असुरक्षा महसुस गर्दै बसेकी छन्।घरेलु हिंसा पीडित रौनियारले जिल्ला अदालत सर्लाही सहितका सरोकारवाला निकायमा जाहेरी दिएपछि पति रोहित गुप्ता(मुन्ना) फरार भएका छन्।अदालतमा जाहेरी हालेको लामो समयपछि केही दिन पहिला जिल्ला अदालत सर्लाहीको आदेश अनुसार स्थानीय प्रहरी र स्थानीयको सहयोगमा रौनियार घर पुगेपछि ससुरा सतेन्द्र गुप्ता तथा सासू घर छाडेर हिँडेका छन्।घरमा एक्लै रहेकी रौनीयारलाई साथ दिन माइतबाट बुवा हृदय राम रौनियार र आमा सुनिता देवी आएका छन्।तर पनि राति डराई(डराई त्रासमा बस्नु परेको रौनीयारको गुनासो छ ।
दाइजोका कारण घरेलु हिंसामा परेकी रौनियारलाई पति मुन्नाले सम्बन्ध विच्छेदको मुद्दा हालेपछि उनले घरेलु हिंसाको मुद्दा जिल्ला अदालत सर्लाहीमा दर्ता गराएकी थिइन्।जिल्ला अदालतले २०८० कात्तिक १४ गते घरमा बस्न,नकुट्न र खान लाउन दिन तथा औषधि उपचार गराउने लगायतको आदेश दिएको थियो।तर अदालतको घरमा बसाउने भनेर लेखेको पत्र बोकेर छ महिना वडा,पालिका तथा इलाका प्रहरी कार्यालय हरिवनमा धाउँदा पनि सबैले बेवास्ता गरेका रौनियारले बताईन् ।
पटक पटक आफैँ घर पस्न लागेको बेला श्रीमान् मुन्ना सहित सासु ससुराले कुटपिट गरी घर बस्न नदिएका रौनियारले बताईन्।बल्ल केही दिनअघि मात्र रौनियार प्रहरी र स्थानीयको सहयोगमा घरमा प्रवेश गरिन।तर उनी ढुक्कसँग घरमा बस्न सकिरहेकी छैनन्।राति कतैबाट आक्रमण भएर ज्यानै जाने हो कि भनेर त्रासमा बस्नु परिरहेको उनको गुनासो छ ।“अदालतको आदेश पछि प्रहरी र स्थानीयको सहयोगमा आफ्नो घरमा प्रवेश त पाएँ,तर घरपक्षकोे डर भने कायमै छ,त्रासमा रात बिताइरहेकी छु,आफ्नो घरमा बस्न पनि मैले लामो संघर्ष गर्नुप¥यो।”रौनियारले सुनाईन् ।
२०७९ असार १० गते मोरङको सुन्दर हरैंचा नगरपालिका १२ की रौनियारको हरिवन नगरपालिका ९ का मुन्नासँग विवाह भएको थियो।सामाजिक सञ्जाल मार्फत मुन्नासंग प्रेममा परेकी रौनियार र मुन्नाको दुवै पक्षको घरको सहमतिमा विवाह भएको थियो ।विवाहपछि दुवै जनाको सपना विदेश जाने बनेको थियो।त्यही अनुसार उनीहरू दुवै जना काठमाडौँ पुगेर त्यसको तयारीमा जुटेका थिए।विभिन्न कारणले विदेश जाने सपना तुहिएपछि उनीहरूको प्रेम धेरै समय टिक्न सकेन।त्यसपछि उनीहरू बीचमा विवाद सुरु भएको थियो।दाइजो कम ल्याएको भन्दै आफूमाथि श्रीमान,ससुरा तथा सासुले पटक(पटक यातना र कुटपिट गरेका रौनियारले अदालतमा दिएको जाहेरीमा उल्लेख छ ।
२०७९ कात्तिकमा छठ पर्वपछि रु ५० लाख दाइजो नल्याएसम्म घरमा प्रवेश गर्न नदिने भन्दै कुटपिट गरी निकालिएपछि आफू माइतीको शरणमा पुगेको उनले बताईन् ।त्यसको दुई महिना नबित्दै मुन्नाले रौनियारलाई घरमा मिलेर बस्नुपर्छ भनी माइतबाट बोलाएर ल्याएका थिए ।त्यस लगतै विदेश जाने भनेर रु ५० लाख माइतीबाट माग्न आफुलाई भनेका र आफुले तर बुवाको हैसियत नभएको जिकिर गर्दै अडान लिएपछि विवाद पुनःसुरु भएको रौनियारको भनाई छ।पछि रु १० लाख बैंकबाट तथा रु छ लाख नगद तिरेपछि समस्या केही दिनका लागि समाधान भए पनि फेरि आफूमाथि कुटपिट तथा घरबाट निकालिएपछि २०८० असोज ४ गते हरिवन नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेको रौनियारले बताइन् ।
“असोज ५ गतेको छलफलमा घरमा बस्न दिने,६ गते विवाह दर्ता गराउने लगायतका सहमति भएको थियो।त्यस लगतै मुन्नासहितका आफन्तले रौनियारको चरित्रमाथि शंका गर्दै गर्भ जाँच गराउन जबरजस्ती अस्पतालमा लगेका, महिनावारी भएको छु भनेर रुँदा कराउँदा पनि कसैले नसुनेका,पुरै कपडा खोलेर सेनिटरी प्याड समेत जाँच गरे।अन्य मानिसहरुको सामुन्ने आफ्नो इच्छा विपरीत सार्वजनिक रूपमा आघात पु¥याइए पनि घरबार नविग्रोस भनेर कुनै प्रतिवाद नगरी बसेँ।कुटपिटबाट घाइते भएको र घरबाट निकालिएपछि माइतको शरणमा पुगे ।”रौनियारले बताईन् 
रौनियारका पति मुन्ना ६ गते सम्पर्कमा नआएपछि हरिवन नगरपालिकाको न्यायिक समितिले गरेको निर्णय पनि कार्यान्वयन हुन सकेन।न्यायिक समितिले निर्णय गरे पनि अर्को पक्ष दोस्रो दिन नआउँदा निर्णय कार्यान्वयन हुन नसकेको हरिवन नगरपालिकाकी उप प्रमुख एवम न्यायिक समितिकी संयोजक हरिमाया घलानले बताइन्।उनले आफूहरूले रौनियारलाई न्यायिक लडाइ लड्न अघि बढ्न सुझाएको बताइन्।तर रौनियारको यौनाङ्ग जाँच गरेको भन्ने कुरा पछि सुन्दा आफू पनि अचम्ममा परेको हरिवन नगरपालिकाकी उप प्रमुख एवम न्यायिक समितिकी संयोजक हरिमाया घलानले बताइन् ।
“रौनियारले निवेदन दिएपछि हामीले दुवै पक्षलाई राखेर सहमतिमा निर्णय ग¥र्यौं,तर केटा पक्ष त्यो निर्णय कार्यान्वयन गरेनन्,यौनाङ्ग चेक गरेको भनेर पछि थाहा पायौँ,यो सा¥है गलत भएको रहेछ।”हरिवन नगरपालिकाकी उप प्रमुख एवम न्यायिक समितिकी संयोजक हरिमाया घलानले बताईन् ।
रौनियार माथिको हिंसा यतिमा मात्र सीमित भएन त्यस लगतै पति मुन्नाले जिल्ला अदालत सर्लाहीमा सम्बन्ध विच्छेदको मुद्दा दिएपछि रौनियारले पनि घरेलु हिंसा,दाइजो,जालसाजी लगायतका मुद्दा दिएकी छन्।उनले सम्बन्ध विच्छेद मुद्दामा अंश र माना चामलको प्रतिउत्तर पनि लगाएकी छन्।घरेलु हिंसामा अदालतको आदेश आए पनि अन्य मुद्दा चलिनैरहेको छ ।
घरेलु हिंसामा अदालतले घर बस्न दिएको पत्र बोकेर रौनियार २०८१ असार १९ गते घर प्रवेश गरेकी थिइन्।त्यस क्रममा पति मुन्ना सहितकाले मरणासन्न हुनेगरी कुटपिट गरेको भन्दै असार २० गते इलाका प्रहरी कार्यालय हरिवनमा छलफल भएको थियो।ससुरा सतेन्द्रलाई प्रहरीले पक्राउ पनि गरेको थियो ।त्यस क्रममा रानियारलाई घरको एक कोठामा बस्न दिने तथा कुटपिट नगर्ने सहमति भएको थियो।यो विषयलाई मिलाउनका लागि जिल्लाका विभिन्न सामाजिक संघसंस्थाहरु रतीनका प्रतिनिधिहरु राखेर छलफल भएको थियो।तर त्यहाँबाट पनि आफूले न्याय नपाएको रौनियारले बताइन्।माइती नेपालमा पनि आफ्नो गुनासो राख्दा सुनुवाइ नभएको र कतैबाट न्याय नपाइरहेको बेला आफ्नै घरमा अपहेलित तथा हिंसाको सिकार भई बिरामी समेत भएको अवस्थामा उनी फेरि माइत गएर बसिन्।अन्य मुद्दा अदालतमा चलिरहेकै बेला मुन्नालेनै रौनियारसँग पर पुरुषको नक्कली विवाह दर्ता बनाएर सामाजिक सञ्जालमा राखेपछि उनले विद्युतीय कारोबार सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङमा २०८१ कात्तिक ६ गते उजुरी दिएकी थिइन्।त्यसमा अदालतले मुन्ना र उनका दाजु सन्तोष विरुद्ध पक्राउ पुर्जी जारी जारी गरे पनि इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरेन्।चरित्र हत्याको आरोपले रौनियार थप प्रताडित बनेकी छन् ।
 सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेसम्मको काम हुँदा पनि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न चासो नदिँदा थप पीडामा परेको रौनीयारको गुनासो छ।रु १५ लाख नगद,१८ लाखको गर गहना सहित फर्निचर, लत्ता कपडामा ७० लाख भन्दा बढी खर्च भए पनि दाइजोमा थप रु ५० लाखको माग भएपछि आफू घरेलु हिंसामा प्रताडित बनेको रौनियारले बताइन्।उनले मुन्नाबाहेक कोहीसँग आफ्नो कुनै सम्बन्ध नै नरहेको ठोकुवा गर्दै चरित्र हत्या गर्न विभिन्न आरोपहरू लगाइएको बताईन् ।यता,रौनियारका ससुरा सतेन्द्रले कञ्चनको चालचलन ठीक नभएको र पर पुरुषसँग घुमेको देखेपछि दुवै जनाको सम्बन्ध बिग्रेको बताए।उनका अनुसार रौनीयारलाई छोरी सम्झेर राखेकोमा अभद्र व्यवहारमा मुद्दा खेप्नु परेको गुनासो गरे।उनले रौनियार आउने बित्तिकै भिडियो बनाउने सामाजिक सञ्जालमा राख्ने गरेका कारण आफूहरू घरबाट निक्लेको जानकारी दिए।उनले मिलापत्रका लागि ठुलो रकम माग भएकाले दिन नसक्ने बताउँदै अदालतकै फैसला कुर्नुबाहेक अन्य विकल्प नरहेको जानकारी दिए।
यता, जिल्ला अदालत सर्लाहीबाट मुन्ना दाजुभाई विरुद्घ पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार रहेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर तामाङले बताए। पहिलादेखि नै उनीहरू बीच पारिवारिक कलह छ,उनीहरू कानुनी बाटोमा पनि गएका छन्,तर पछिल्लो समय चरित्र हत्या भएको भन्दै जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको र उनीहरूको खोजी गरिरहेको उनले बताए ।स्रोतका अनुसार रौनियारका मामा संग्लग्न रहेको रौनियार सेवा समाज काठमाण्डौँको नाममा रु १० लाख ९० हजार पैसा पठाई सकेको र अब अदालतबाट मुद्धा सकाउने र सम्बन्धम विच्छेद गर्ने तयारी रहेको समेत पाइएको छ ।

सम्बन्धित समाचार