कोशी सहित देशभरका सुनचाँदी व्यवसायीहरु आन्दोलीत,व्यवसाय अनिश्चितकालका लागि बन्द

414 Shares

नेपाल सरकारद्वारा लागू गरिएको नयाँ कर नीतिविरुद्ध असन्तुष्टि जनाउँदै कोशी प्रदेश सहित देशभरका सुनचाँदी व्यवसायीहरूले अनिश्चितकालीन व्यवसाय बन्द गरेका छन्।नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ कोशी प्रदेशले संयुक्त महासंघको निर्णयअनुसार असार १३ गते शुक्रबारदेखि सम्पूर्ण सुनचाँदी व्यवसाय अनिश्चितकालीन रुपमा बन्द गरेका हुन ।सरकारको अव्यवहारिक कर नीतिले व्यवसायीहरू मारमा परेको भन्दै विरोधमा उत्रनुको विकल्प नरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ कोशी प्रदेशका अध्यक्ष रमेश रसाईलीले बताए ।
उनका अनुसार नेपाल सरकारद्वारा लागु गरिएको कर संरचना व्यवहारिक छैन।प्रदेश,जिल्ला, नगर तथा आम व्यवसायीहरूको लिखित तथा मौखिक सुझाव संकलनपछि सुनचाँदी व्यवसायीहरुले आन्दोलनको बाटो रोजेका हुन।सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर व्यवसाय बन्द गरेर आन्दोलन गर्नु परेको नेपाल सुनचाँदी व्यवसायी संघ मोरङका अध्यक्ष शशिभुषण साहले बताए ।
उनका अनुसार सुनचाँदी व्यवसाय सामान्य करदाता होइन,यो हजारौं जनताको रोजगारीसँग जोडिएको क्षेत्र हो,सरकारले नीति परिवर्तन नगरे उचित कदम चाल्न सुनचाँदी व्यवसायीहरु बाध्य हुने छन् ।कोशी प्रदेशका अधिकांश सहरहरूमा सुनचाँदी व्यवसाय लामो समयदेखि स्थिर व्यापारको रूपमा रहेको छ।तर,पछिल्लो समयमा करको दर,दस्तुर र प्रणालीमा आएको परिवर्तनले व्यवसायमा संकट बढाएको सुनचाँदी व्यवसायीहरूको गुनासो छ ।

सम्बन्धित समाचार