ब्रम्हपुरी र बसबरियामा सार्वजनिक सुनुवाई

572 Shares

सर्लाहीको ब्रम्हपुरी र बसबरिया गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेका छन् ।यि दुवै पालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ प्रवाह गरिएको सार्वजनिक सेवा तथा विकास निर्माणको समिक्षा र आगामी आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने कार्यक्रमका सम्वन्धमा सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष राम पदारथ साह तेलीले जानकारी दिए । 
ब्रम्हपुरी गाउँपालिका १ स्थित रहेको जलधर कमलदेव नमूना मा.विकोको प्राङ्गणमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीबाट उठेका गुनासा,सल्लाह र सुझावको बारेमा गाउँपालिका अध्यक्ष साह,उपाध्यक्ष श्यामकला यादव,प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउत लगायत गाउँपालिकाका विभिन्न शाखाका प्रमुख र अन्य कर्मचारीले सम्वोधन गरेका थिए ।
यस्तै,बसबरिया गाउँपालिका १ स्थित रहेको त्रिभुवन मा.वि.मा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेको गुनासा,सल्लाह र सुझावहरुको गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव,विभिन्न वडाका वडाध्यक्ष, कर्मचारीलगायतले सम्वोधन गरेका थिए ।साथै,११ वटा नगरपालिका र नौ वटा गाउँपालिकागरी २० वटा स्थानीय तह रहेको सर्लाहीका सबै पालिकाहरुले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति,बजेट तथा कार्यक्रम ल्याई सकेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कुनैपनि स्थानीय तहहरुले आगामी आर्थिक वर्षको वार्षिक बजेट,नीति तथा कार्यक्रममा  चालु आर्थिक वर्षको असार १० गते भित्र ल्याइ सक्नु पर्ने र असार २५ गते सम्म पारित गरि सक्नु पर्ने प्रावधान रहेपनि सर्लाहीको पर्सा गाउँपालिकाले  असार १० गते आगामी २०८२/०८३ को वार्षिक नीति,बजेट तथा कार्यक्रम ल्याउन सकेको थिएन् ।तर सहमती गरी असार १३ गते आगामी २०८२/०८३ को वार्षिक नीति,बजेट तथा कार्यक्रम ल्याएको छ ।

सम्बन्धित समाचार